
“.. गल्ती देखे नी देख, राम्रो देखेनी देख, भलो-कुभलो, क्षमता-अक्षमता, राम्रो-नराम्रो सबै सबै पहिले आफ्नो देख। आफ्नो देखिसकेपछि अरुको हेर, मूल्याङ्कन र तुलना नगर। सहयोग गर।”
उहाँले बोल्नुभएको बस यति एउटा हरफले मैले उहाँलाई चिनेँ । धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ निवासी आदरणीय भीष्म दाई ! एक इच्छा आशा र अभिलाषा बोकेर पक्कै पनि युरोप छिर्नुभएको हो ।
भन्नेहरूले भनिदिए कि युरोप गएपछि अरु के चाहियो ? साँच्चै पछिल्ला दिनहरू परदेसिनेहरुकाे विडम्बनाका दिन बनेका छन् । विकासका आयामहरूलाई पर्खालले छेकेर लगभग शून्यतामा अल्झिरहेको मेरो देशबाट हजारौं मान्छेहरु जस्तै यो एउटा मान्छे पनि बाहिरियाे । अरु जस्तै यिनी पनि स्वदेश हुँदा सबैले प्रयोग गरेर थन्काएको एक थान थोत्रा कागज जस्तै थिए होलान् सायद ।
उनको प्रकृति र प्रवृत्तीले जति स्वाभिमान र निष्कलङ्क देखाउँथ्यो सायद यो विषयको सिकार उनी नेपालमै भएको हुनुपर्छ । माथिका हरफहरूले पनि उनीलाई अर्धाङ्ग देखाउँछ । त्यत्तिकै यतिको सिकाई हुन सक्दै सक्दैन ।
उनी सक्षम हुँदै उनलाई प्रयोग गर्न र सहयोग पाउन्जेल सहयोग लिन सबै उद्धत नै थिए । जब दुःख पर्यो केही साथीहरु हराए । मानवता हराएको छैन नैतिकता मासिएको छैन । धेरै साथीहरुले सहयोग गरिरहनु भएको छ । उहाँको पार्थिव शरीरलाई नेपाल लैजाने अन्तिम घडीमा हामी छौं ।
उपचारका कोसिसहरू गरिए अन्ततः निस्फल रह्यो । क्यान्सर जस्तो प्राणघातक रोगले उहाँलाई, प्रदेशको ठाउँ उपचार बेलैमा सुरु गर्न कठिनाइ भयो जब उपचार सुरु भयो- त्यतिबेला थाहा भयो कि उहाँको शरीरको सबै अङ्ग प्रत्यङ्गमा फैलिसकेको थियो। ढिलो भइसकेको थियो ।
भन्ने चलन छ “लेखेको आफ्नो देखेको पराय !” सायद समय त्यही होला । उहाँले जति देख्नुभयो त्यति लेखिएको थियो । विगत ११ महिनादेखि दिनरात खटिएर लाग्दा पनि उहाँलाई बचाउन सकिएन । यसबीचमा धेरै आफन्त साथीभाइहरुले साथ सहयोग गरिरहे- यसको जति नै प्रशंसा गरे पनि कम हुन्छ ।
एकमुठी नेपालको माटो युरोपमा धुलियो, एकमुठी पाशुपत क्षेत्रको हावा युराेपको आकाशमा उड्यो, एकमुठी हैमरक्त क्षार समुन्द्रमा मिसियो। बोल्दाबल्दैको लेख्दालेेख्दै मै सँगको सम्बन्ध उसकाे एकैछिनमा सकियो । परिवारका इच्छा आकांक्षा र मनोभावनाहरुमा पूर्णवराम लाग्यो । एउटा स्वाभिमानी, शान्त र निडर प्रत्याभूत हुने तारा खस्यो, विश्वासको स्तम्भ भाँचियो ।
परदेशीयका धेरै नेपालीहरू जस्तै भीष्मले पनि आफ्ना इच्छा आकांक्षाहरू र आशा अभिलाषाहरु यतै कतै युरोपमा छोडेर निर्वस्त्र भई बाकसमा नेपाल फर्किनुपर्यो। यो नियति हो, यो अकर्मन्यता हो, सरकारको यो नालायकीपन हो । यहाँ पनि सरकारको उपस्थिति छ तर पनि नागरिक अनागरिक भइरहँदा वा मरिरहँदा उसको उपस्थिति रहन्न । गाँस काटेर अरुले लास पठाउनुपर्छ, सरकारको उपस्थिति अर्थात् दूतावासले यसमा कुनै भूमिका निर्वाह गर्दैन ।
नेपाल छउन्जेल त जिम्मा लिएन, परदेशीएकाहरुले रेमिट्यान्स पठाउन्जेल त सरकारले चिन्दैन, मरेपछि त झन् के चिन्थ्यो ? चिन्दै चिन्दैन देख्दै देख्दैन, उसको आँकडामा ऊ आइसकेपछि पनि उसले तथ्याङ्कमा मरिरहनेहरुलाई लेख्दै लेख्दैन । उसले देख्छ त केवल कागजात प्रमाणीकरण मा ! उसले लेख्छ हामीहरूको नाम त केवल शुल्क रसिदमा । बाँकी उसले देखे पनि नदेखे जस्तो गर्छ । लेख्न त कतै लेख्दै लेख्दैन ।
नियतिका हरेक हरफहरू सँगसँगै सबैले यसैगरी प्रदेशमा आफ्नो जीवन बलिदान गरिरहेका छन् । निर्विकल्प गरिएका यी बलिदानीहरू सरकारले त कसरी देखोस् र । तर पनि देखेको कुरा म लेखिरहनेछु शनै शनै ! तपाईँसँगको साथ यति नै रहेछ, अलविदा भीष्म दाइ !
(लेखक: बुढाथोकी एनआरएनए पोर्चुगलको महासचिव एवम् नेपाली जनप्रगतिशील मञ्चको समेत महासचिव हुन् ।)
