जनयुद्धका सहिद इन्द्र ब. थपलिया र बिन्दा सुवेदीको आज स्मृति दिवस

Avatar photo
Dhadingpost
भदौ १५, २०८०

धादिङ । माओवादी भए कै कारण आजैका दिन अर्थात भदौं १५ गते धादिङका ३ जनालाई तात्कालिन राज्यपक्षले हत्या गरेको थियो । बेनीघाट रोराङका इन्द्र बहादर थपलिया, भुमेस्थान निवासी विन्दा सुवेदीलाई माओवादी कार्यकर्ता भएकै कारण राज्यपक्षले आजैका हत्या गरेको थियो ।

बेनीघाट रोराङ आयोजित इन्द्र ब. थपलिया स्मृति दिवस कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले सहिदको सपना साकार पारेरै छाडिने बताएका थिए । सहिदको सपना साकार पर्ने हाम्रो आन्दोलन सकिएको छैन आन्दोलनको स्वरुपमात्रै परिवर्तन भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले सहिद तथा वेपत्ता परिवार, जनयुद्धका घाईते अपाङ्ग तथा पार्टी कार्यकर्ताहरुलाई निराश नबनी पार्टीलाई निरन्तर सहयोग गर्न आग्रह गरेका थिए ।

राज्य पक्षले आजैका दिन यसरी हत्या गरेको थियो यी तीन योद्धालाई
तात्कालिन शाही सेनाले ४८ वर्षिय थपलियालाई पार्टी कामको सिलसिलामा जाँदै गर्दा भुमेस्थान खोस्टे खोला बिमिरेमा, १७ वर्षिय विन्दा सुवेदीलाई घरबाटै गिरफ्तार गरि घरमाथि जंगलमा हत्या गरिएको थियो ।

सहिद विन्दा सुवेदीको घरमा नजिकै तात्कालिन माओवादीको कार्यक्रम हुँदैछ भन्ने सुराकी पाएको तात्कालिन सेना उक्त स्थान तर्फ जाँदै गर्दा थपलिया सेनाको कब्जामा पर्नु भएको थियो भने, सेना घर मै आई सकेको देखेपछि नाबालिका बिन्दा सुवेदीले माओवादी यहाँ आएका छैनन् । थाकेर आउनु भएको होला, चिसो पानी खाएर जानु होला, तपाईहरुलाई कति गाह्रो छ हगि भनेर सेनालाई अल्मल्याएको र त्यहि मौकामा दर्जन भन्दा बढी माओवादी कार्यकर्ताहरु भाग्न भ्याएको माओवादी धादिङका सचिव दिपक लामिछानेले धादिङपोष्टलाई बताउनु भयो ।

सुवेदीले सेनालाई अल्मल्याएको थाहा पाएपछि हामीलाई तैले माओवादी भगाउन पो अल्मल्याएकी रहिछे भन्दै, घरबाट घिसारेर माथि जंगलमा लगेर हत्या गरेका थिए । सुवेदीले आफु मरेर दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई बचाएको सचिव लामिछानेले बताए ।

(०५२–०६२ को जनयुद्धमा धादिङमा कहाँ के भयो ? कति मारिए (जीवनी), कति वेपत्ता छन्, कति घाईते अपाङ्ग बने, जान्न इच्छुक हुनुहुन्छ भने धादिङमा जनयुद्ध पुस्तक पढ्न सक्नु हुनेछ । यो पुस्तक नि:शुल्क पाइने छ । पुस्तकको लागि सम्पर्क 9851191181 -सम्पादक)