
विश्वनाथ सिम्खडा
कालिकोट । माओवादी आक्रमणको अन्तिम निशाना बनेको कालीकोटको पिली कोपको सुक्खा डाँडो आगोले खाएर कालो बनेको छ यतिखेर । कोप डाडोलाई हरियाली बनाउन स्थानीयले तीन वर्षअघि रोपेका लेप्टिस, बकाइनो, खयर, सल्लो, सिसौलगायतका ५ हजार बढी बिरुवा माघ पहिलो साता लागेको आगोले जलेपछि स्थानीय दुःखी छन् । १० वर्षे जनयुद्धले थलिएको पिलीको उजाड डाँडो हरियाली बनाउन दुःख गरी आफ्नो पालामा बिरुवा रोपे पनि यतिखेरको आगलागीबाट जोगाउन नसकेकोमा खाडाचक्र ७ पिलीका निर्वमान वडाध्यक्ष रजबहादुर मल्लको मन कुँडिएको छ । गाग्रीमा पानी बोकेर जगाएका बुट्यान सबै मरे ।
उनको गुनासो छ ‘वन डढेको सबैले देखे तर मन डढेको कसैले देखेनन् ।’ पिलीलाई सरकारले युद्ध पर्यटकीय क्षेत्र घोषणा गरेर कार्यान्वयनमा ढिलाइ गरेकोमा उनको चित्त दुखाइ छ । युद्ध पर्यटकीय क्षेत्र बनाउने घोषणा भएको एक दशक पुग्न लाग्यो । उनले थपे, ‘काम जहाको त्यही छ ।’ हालसम्म युद्ध पर्यटकीय क्षेत्र पिलीको नाममा ३ करोड रुपैयाँ खर्च भए पनि देखिने उपलब्धि छैन । बनेको संरचना पनि जीर्ण हँुदै गएको छ । कोप डाडामा बनाएको ४ कोठे प्रशासनिक भवन गएको असोजको वर्षाले क्षतिग्रस्त छ भने शौचालय प्रयोग नहुँदै जीर्ण बनेको छ ।
कुनैबेला प्रहरी र सेना देख्नेबित्तिकै पिलीबासी कोही घरभित्र लुक्थे त कोही जंगलमा कुद्थे । माओवादी कार्यकर्ता पनि गाउँ पसे कसैलाई भूमिगत हुन कर गर्ने हुन वा श्रम गर्न खटाउने हुन भनेर पिरलो हुने गथ्र्यो । सशस्त्र द्वन्द्वको अन्तिम फौजी हमलाको सिकार बनेको थियो पिली । खरानी भएको पिलीको समृद्धिका लागि प्रयास भइरहेको भए पनि सार्थकता पाउन नसकेको स्थानीयको गुनासो छ । ‘हाम्रा दुःख त उस्ताइ (उस्तै) छन् । ५० वर्षीया मिमकोशा मल्लले भनिन्, ‘सुखका दिन आउन्याछन् भन्नाछिया (आउँछन् भन्थे), झुटा रयाछन् ।’ उनले व्यवस्था फेरिएको भन्दा सडक पुगेपछि गाउँमा केही सहज भएको पनि सुनाइन् ।
केही भएन भन्नेमा छिमेकी लक्ष्मीकला कार्की सहमत छैनन् । ‘केही भएन भनांै भने महिला अगुवा लाग्न पाएका छौं,’ उनले भनिन् । हालै गठित मेघमती आवि व्यवस्थापन समितिमा सदस्य चुनिएकी ६३ वर्षीया कार्कीले भनिन् ‘पहिलेजस्ता त छैन, गाउँमा रोड पुग्यो, खानेपानी आयो, अलिअलि विकास त भयाकै छ । कुनैबेला प्रहरी र सेना देख्नेबित्तिकै पिलीबासी कोही घरभित्र लुक्थे त कोही जंगलमा कुद्थे । माओवादी कार्यकर्ता गाउँ पसे भने भूमिगत हुन कर गर्थे त्यो नमान्नेलाई श्रम गर्न खटाउँथे । सशस्त्र द्वन्द्वको अन्तिम फौजी हमलामा खरानी भएको पिलीको समृद्धिका लागि प्रयास भइरहेको भए पनि सार्थकता पाउन नसकेको स्थानीयको गुनासो छ ।
कर्णाली राजमार्ग निर्माणको क्रममा २०६१ चैत्रमा स्थापना गरिएको कर्णाली राजमार्ग सडक निर्माण कार्य दलको क्याम्पमा माओवादीले देशभरको शक्ति केन्द्रित गरी पिली क्याम्पमा २३ साउन २०६२ मा आक्रमण गर्दा सेनाले ठूलो संख्यामा मानवीय र भौतिक क्षति बेहोर्नुप¥यो । पिली आक्रमणमा सडक खन्न भर्ना गरिएको अर्धसैनिकसहित तत्कालीन शाही नेपाली सेनाका ७५ जनाले ज्यान गुमाए ।
स्थानीय रासन ठेकेदार शक्ति मल्लको माओवादीले टाउको काटे भने वारी पिलीबाट सेनाले हानेको गोली लागेर तिला नदी पारी औलगेलाका करे घर्तीले पनि ज्यान गुमाए । पिलीमा माओवादीतर्फ पनि दुई दर्जन बढीले ज्यान गुमाए । कैयौं घाइते भए । घटनाको तीन दिनपछि मात्र सरकारी फौज पिली पुग्न सकेको पिलीमा तत्कालीन पश्चिम डिभिजन कमान्डर जनार्दन शर्माको नेतृत्वमा ठूलो मात्रामा सेनाको अत्याधुनिक हातहतियारसहित ६२ जना सेनालाई नियन्त्रणमा लिएर एक महिनापछि जाजरकोटबाट छाडिएको थियो ।
माओवादी आक्रमणपछि त्रस्त बनेकोे यहाँको जनजीवन जनआन्दोलन २ पछि सामान्य मात्र बनेन । स्थानीयको दैनिकीसमेत फेरिएको स्थानीय पुत्रबहादुर मल्लले बताए । पिलीको विकासका लागि तत्कालीन दाहा गाविस जिविस हँुदै खाडाचक्र नगरपालिका बनेपछि स्थानीयले सरकारलाई हारगुहार गर्दै आएका छन् । ‘हामी लागेका लाग्यै छौं ।’ युद्ध पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्षसमेत रहेका मल्लले भने, ‘योजनाअनुसार संग्रहालय, शालिकसहितका शहीदका स्मारक बनाउने काम बाँकी नै छ । तत्कालीन दाहा गाविसका उपाध्यक्ष मल्लले थपे केही भएन भनौं भने बजेट परेकै छ ।’
१० करोडको डीपीआर, ७ करोडको ठेक्का
यसअघिको बजेटले काम सुरु गरिए पनि खाडाचक्र नगरपालिका बनेपछि डीपीआरसहितको योजना निर्माण भएको छ । पिली पर्यटकीय युद्ध संग्राहलयका लागि १० करोड ८१ रुपैयाँ लाखको डीपीआर बनेर संघीय बजेटबाट कार्यान्वयनमा गएको नगर प्रमुख कमलबहादुर शाहीले बताए ।
युद्ध पर्यटकीय क्षेत्र पिलीका लागि गत आर्थिक वर्षको अन्त्यमा डिभिजन वन कार्यालय कालीकोटले भ्याट र पीएससहित ८ करोड ८९ लाख ९१ हजार १ सय ७६ रुपैयाँको रकमको टेन्डर आह्वान गरेर काठमाडांैको कुलेश्वर कन्ट्क्सन प्रालिले ६ करोड ८९ लाख ९९ हजार ७ सय ९९ रुपैयाँ ९७ पैसामा ५ वर्षभित्र निर्माण सक्नेगरी सम्झौता गरेको छ । ‘सम्झौता त असारमै भएको हो,’ डिभिजन वन प्रमुख रमेशकुमार गिरीले भने ‘काम सुरु भएको छैन, छिट्टै सुरु हुन्छ ।’ उनका अनुसार ठेकेदार काम गर्न काठमाडांैबाट हिडिँसके ।
पिलीमा युद्ध म्युजिमसहितको संग्रालय, ¥यालिंगसहितको करिब १९ सय मिटर पैदल मार्ग, पौडी पोखरी, पार्किङ, प्रवेशद्वार, भ्यु टावर, पोखरी, बिरुवासहितको दुईवटा चौतारो, दुईवटा शौचालय, जनयुद्धका लडाकु र शाही नेपाली सेनाका शालिक र प्रयोग गरेका हतियारको नमुना निर्माण हुने इन्जिनियर सेजुवालले जानकारी दिए । पिलीमा युद्ध संग्रालय बनेपछि देशकै नमुना युद्ध पर्यटकीय गन्तव्य बन्ने माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले बताए । पिलीको विकास र संरक्षणका लागि आफूले पहल गरिरहेको सुनाउँदै पिली पर्यटकीय हब बन्ने दाबी गरे । उनका अनुसार पिली हुँदै जुम्ला र मगुको रारा पुग्ने कर्णाली राजमार्ग, पिली पाखा सडकले पनि पिलीको समृद्धि र विकासका लागि योगदान पु¥याउने अवस्था छ ।
फेरिँदै स्थानीयको दैनिकी
माओवादी आक्रमणको निशाना बनेको कर्णाली राजमार्ग निर्माण सम्पन्न भएपछि पिली गाउँ र यस आसपासका बासिन्दाको दिनचर्या परिवर्तन भएको छ । कमाइका लागि भारत धाउने युवा गाउँमै विभिन्न पेसा अपनाएर आत्मनिर्भर बन्न थालेका छन् । घरघरमा चर्पी निर्माण गरेर समुदायको अगुवाइमा गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषित गरिएको छ । गेला गाविसलाई जोड्न गाउँको पुछारमा बग्ने तिला नदीमाथि झोलुंगे पुल निर्माण भएको छ । घरघरमा सौर्य प्रणालीले गाउँ झलमल्ल बनाइएको छ । खानेपानी नहुँदा घण्टांै लाइन बस्नुपर्ने बाध्यता भोगेका घरघरमा धारा बनेपछि खुसी छन् ।
कर्णाली राजमार्ग निर्माणसँगै पिली बजार बनेपछि यहाँको कालिका प्रावि मावि बनेको छ । निमावि र मावि तहको अध्ययनका लागि दैनिक ४ घण्टा टाढा पैदल हिडेर गेला र घोडेना पुग्नुपर्ने बाध्यता हटेको छ । ‘गाउँमा मावि बनेपछि निकै सजिलो भयो,’ कक्षा १० मा अध्ययनरत नन्दा विश्वकर्मा भन्छिन्, ‘बिहान २ घण्टा र बेलुकी २ घण्टा हिँड्दा हिँड्दै थाकिन्थ्यो, स्कुलमा पढेको पनि बुझिदैनथ्यो ।’ उनले गाउँमा मावि नहुँदा प्रावि तहबाट माथि अध्ययन गर्न छात्रालाई निकै समस्या हुने गरेको सुनाइन् । पहिले त गाउँभरिबाट मावि तहमा पढ्ने केटीको संख्या चार÷पाँच जना मात्र हुन्थ्यो । दलित छात्रा विश्वकर्मा भन्छिन्, ‘अहिले त एउटै गाउँका ४१ जना मावि तहमा पढ्ने छात्रा छन् ।’
त्यस्तै, कक्षा ३ सम्म पठनपाठन हुने मेघमति प्राविमा कक्षा ५ सम्म पढाइ हुन थालेको छ । गाउँका दुवै विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालनमा आएका छन् । खाडाचक्र नगरपालिकाको अगुवाइमा संघसंस्थाकोे सहयोगले खेल्दै सिक्दै गर्ने बालसुलभ वातावरण कक्षा कोठा व्यवस्थापन र सहयोगी कार्यकर्तालाई तालिम प्रदान गरेपछि दिनभर धूलो माटोमा खेल्ने ससाना नानी रमाउँदै विद्यालय जाने गरेकोे गरेको स्थानीय महिला कुसुमकला मल्लले बताइन् । गाउँका सबै बालबालिका विद्यालय भर्ना गरेर शतप्रतिशत आधारभूत शिक्षा सुनिश्चित वडा बनाइएको वडाध्यक्ष दीपक कार्कीले बताए । पिलीस्थित कालिका माविमा दुईतले पक्की भौतिक पूर्वाधार, छात्रछात्रा शौचालय, बालमैत्री वातावरण, अभिभावकको सक्रियताजस्ता कारण जिल्लाकै नमूना विद्यालयमा दर्ज भएको छ ।
सडक नहुँदासम्म वर्षमा एक÷दुईपटक अनुगमनमा आउने शिक्षाका सरोकारवाला अचेल त महिनामा दुई÷तीनपटक विद्यालय हेर्न आउँछन् । प्रधानाध्यापक डिलबहादुर मल्लले भने, ‘आन्तरिक र बाह्य अनुगमनकर्ता तथा अध्ययन भ्रमणमा शिक्षा विभाग, एनजीओ, आईएनजीओ र छिमेकी विद्यालयका प्रतिनिधि पनि नियमित आउँछन् । विद्यालयमा गठन गरिएको बाल क्लबका प्रतिनिधिलाई विद्यालय व्यवस्थापन समितिमा सदस्यका रूपमा आमन्त्रण गरिने पिलीमा शिक्षक, विद्यार्थी र अभिभावकले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरेर टाँस गरिएको देखिन्छ ।
माओवादी आक्रमणपछि त्रासमा रहेका स्थानीयले लोकतन्त्रको बहालीपछि मात्र शान्तिको सास फेर्न पाएको स्थानीय अगुवा पंखबहादुर मल्ल बताउँछन् । पहिले त गाउँमा डर त्रास मात्र हुन्थ्यो । उनले भने ‘लोकतन्त्र र सडक सँगसँगै पुगेकाले गाउँको मुहार फेरियो ।’ सशस्त्र द्वन्द्वमा गाउँ छाडेर सदरमुकाम मान्मलगायतका ठाउँमा विस्थापित भएका पनि अचेल गाउँमै व्यवसायमा सक्रिय रहेको युवा उद्यमी रमित मल्लले बताए । तलसेरा र पिली दुई गाउँको बीचबाट गएको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकले यहाको कायाकल्प गर्न सहयोग गरेको स्थानीय बलबहादुर कार्कीको अनुभव छ । ‘गाउँको वरिपरि भीरैभीर भएको पिलीलाई बाँदर बस्ने गाउँ भनेर हेला गर्थे । कार्की भन्छन् ‘अवस्था फेरियो, हेला गर्ने गाउँका मान्छे यही बस्न आउनुप¥यो ।’
मल्ल, कार्की, विश्वकर्मा जातिका करिब २ सय ५० घरधुरीका १ हजार ४ सय जनसंख्याको बसोबास रहेको पिली गाउँ २०४८ सम्म पाखा गाविस, त्यसपछि संघीय संरचना नहुँदासम्म दाहा गाविसमा रहेकोमा हाल खाडाचक्र नगरपालिका–७ मा पर्छ । नगरपालिकाको वडा बनेपछि नागरिकता सिफारिस, जन्म मृत्यु दर्ता,सहितका काम गाउँमै हुन्छ भने बिरामी पर्दा पनि गाउँमा स्थापना भएको आधारभूत स्वास्थ्य इकाइले सेवा दिने गरेको स्थानीय तिलकौरा शाही मल्लले बताइन् । ‘गर्भ जाँचलगायतका काम गाउँमै हुन्छ,’ उनले भनिन् ।
पिलीमा विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाको सहयोगमा गाउँवासीले व्यावसायिक रूपले तरकारी तथा फलफूल खेती, बाख्रापालन सुरु गरेको पिली तलसेराका पद्मा मल्लले बताइन् । सडक नहँुदासम्म बजार नपाएको यहाँको केरा र सुन्तलाले बजार पाएको छ । ‘कुनैबेला एक रुपैयाँ प्रतिदाना सुन्तला पाइन्थ्यो । केराको भाउ पनि प्रतिकोसा एक रुपैयाँ थियो,’ उनले भनिन् ‘अचेल बोटमै पाँच रुपैयाँमा हारालुछ हुन्छ ।’ गाउँमा हिमचुली सहकारी संस्थाले समूह गठन गरेर बचत संकलनलगायतका काम गरिरहेको छ । राजधानी दैनिकबाट

