
धादिङबेँसीस्थित एड्भान्स एकेडेमीले सोमबार सहिद दिवसको अवसरमा नृत्य प्रतियोगिता र विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ । विद्यालयले हरेक वर्ष आयोजना गर्ने पूर्व प्राथमिक तहको विद्यार्थीहरूको सामूहिक नृत्य प्रतियोगिता सोमबार आयोजना गरेको हो । त्यसैगरी कक्षा एकदेखि नौ सम्मका विद्यार्थीहरूको सक्रियतामा विज्ञान प्रदर्शनी समेत सम्पन्न गरिएको छ ।
नृत्य प्रतियोगितामा कक्षा नर्सरी देखि यूकेजीसम्मका सातवटा समूहहरू सहभागी भएका थिए जसमध्ये कक्षा यूकेजीबाट सन सेक्सनका विद्यार्थीहरूले सबैभन्दा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए भने कक्षा एलकेजीबाट मयूर सेक्सनका विद्यार्थीहरू र कक्षा नर्सरीबाट पिजन सेक्सनका विद्यार्थीहरू उत्कृष्ट बनेका थिए । कार्यक्रमबिच सबै कक्षाबाट उत्कृष्ट नृत्य प्रस्तुत गर्ने विद्यार्थीहरूलाई कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक भिम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
त्यसैगरी कक्षा एकदेखि नौसम्मको विज्ञान प्रदर्शनी मेलामा विद्यार्थीहरूद्वारा निर्माण गरिएका विविध विज्ञान तथा प्रविधि जन्य सामग्रीहरू प्रदर्शन गरिएको थियो । जस अन्तर्गत मिनिएचर एरोप्लेन, भोल्क्यानो, माइक्रोस्कोप, हाइड्रोलिक ब्रिज, हाइड्रोलिक लिफ्ट, हाइड्रोलिक प्रेस, हाइड्रोलिक स्क्याभेटर, हाइड्रोलिक क्रेन, मनि प्रिन्टिङ डिभाइस, ह्वील एण्ड एक्सल मोडल, सोलार हिटर, वाटर डिस्पेन्सर, रेन वाटर हार्भेस्टिङ, मोडल अफ युरिनरी सिस्टम, ग्रीन हाउस, पिनहोल क्यामेरा, सोलार सिस्टम, पेरिस्कोप, वाटर फिल्टर, स्मार्ट सिटि, जर्मिनेशन अफ सिड्ज, सनडायल, फुड चेन, लाइफ साइकल अफ बटरफ्लाई, एनिमल सेल, प्लान्ट सेल, लाइफ साइकल अफ फ्रग्ज, अनियन सेल, ढिकी, एक्सटर्नल स्ट्रकचर अफ ब्रेन, क्विज बक्स, ह्यूमन नर्भस सिस्टम, वाटर साइकल आदि प्रदर्शनीमा राखिएको थियो ।
विद्यालयले अतिरिक्त क्रियाकलाप तथा खेलकुद अन्तर्गत विविध गतिविधिलाई प्राथमिकतामा राखेर पठनपाठन गर्ने क्रममा यसपटक भने विद्यार्थीहरूलाई व्यवहारिक सिप र ज्ञान दिने हेतुले नृत्य प्रतियोगिता र विज्ञान प्रदर्शनीमा सहभागि गराइएको थियो । विद्यार्थीहरू र अभिभावकहरूको उत्साहजनक सहभागिता रहेकोले विज्ञान प्रदर्शनी कार्यक्रम ज्यादै फलदायी बनेको कुरा विद्यालयका विज्ञान विभाग प्रमुख सरिता सापकोटाले धादिङपोष्टलाई बताईन ।
धादिङ जिल्लाको सदरमुकामलाई मुख्य सेवाक्षेत्र बनाएको यस एकेडेमीले विद्यार्थीको चौतर्फी विकासका लागि हरेक वर्ष खेल उत्सव, प्रिप्राइमरी उत्सव, सडक उत्सव, बक्तृत्वकला प्रतियोगिता, हस्तलेखन प्रतियोगिता, नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, वाल म्यागाजिन प्रतियोगिता जस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिने कुरा विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले बताए ।





