
धादिङ । प्रतिनिधिसभा र प्रदेशसभाको लागि मतदान सुरु भएको छ । दुई सय ७५ प्रतिनिधिसभा सदस्य तथा तीन सय ३० प्रदेशसभा सदस्य चुन्न मतदान सुरुभएको हो ।
यस चुनावमा ११ हजार पाँच सय ४३ उम्मेदवारले भाग लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले कम्तीमा ७० प्रतिशत मत खस्ने र ९९ प्रतिशत सदर हुने अपेक्षा गरेको छ ।यस निर्वाचनका लागि अन्तिम नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन् ।
मतदाताले १० हजार आठ सय ९२ मतदानस्थल तथा २२ हजार दुई सय २७ मतदान केन्द्रमा गएर मतदान गर्नेछन् । आयोगले सय मतदानस्थल तथा तीन सय ९२ वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाएको छ । यी केन्द्रमा एक हजार आठ सय ८६ अपांगता भएका मतदाता छन् ।
चार हजार चार सय ७८ संवेदनशील र तीन हजार ६५ केन्द्र अति संवेदनशील रहेका छन् । आयोगले कार्यस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक र कैदी–बन्दीको मतदानका लागि एक सय ४१ अस्थायी मतदान केन्द्रको व्यवस्था गरेको छ । करिब चार लाख ५० हजार अस्थायी मतदाताले समानुपातिकतर्फ दललाई मतदान गर्न पाउनेछन् ।
धादिङ जिल्लामा २ लाख ६५ हजार ९९६ जना मतदाता छन् जसमा पुरुष १ लाख ३५ हजार ४०१ जना र महिला १ लाख ३० हजार ५९४ जना छन् । धादिङमा सबैभन्दा कम मतदाता रुबीभ्यालीको नेवेर आवि नेवेर मतदान केन्द्रमा १७८ जना मात्रै मतदाता रहेका छन् ।

