
धादिङ । परोपकारको शक्तिमा विश्वास भन्ने नाराको साथ रेडक्रसका जन्मदाता हेनरी ड्यूनाको शालिकमा माल्यार्पण तथा रेडक्रसकर्मी जनप्रतिनीधिहरुलाई सम्मान गर्दै धादिङबेसीमा ६० औं नेपाल रेडक्रस दिवस मनाईएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका सांसद जगत सिंखडा र विशेष अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले ६० औं नेपाल रेडक्रस दिवसको अवसरमा रेडक्रस धादिङको कार्यालय परिसरमा निर्मित हेनरी ड्यूनाको शालिकमा माल्यार्पण गरेका थिए ।
माल्यार्पण लग्गतै रेडक्रस धादिङका सभापति नारायण तिमल्सिनाको सभापतित्वमा भएको सम्मान कार्यक्रममा रेडक्रसको सदस्य लिएका निर्वाचित स्थानीय तहका जनप्रतिनीधिहरुलाई सम्मान गरिएको थियो ।
परोपकारी संस्थाका रुपमा ‘नेपाल रेडक्रस सोसाइटी’को स्थापना विसं २०२० भदौ १९ मा भएको थियो । मानवीय सेवामा तल्लीन रेडक्रसले हाल सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार ६०० उपशाखा र छ हजारभन्दा बढी जुनियर/ युवा सर्कल मार्फत स्वयंसेवक परिचालन गरिराखेको छ ।

