धादिङबेसी खानेपानी आयोजनाको शिलान्यास, करिव साढें २९ करोडको काम हुने

Avatar photo
Dhadingpost
भदौ १३, २०७९
  • नीलकण्ठ नगरपालिका वडा नं २, ३, ४ र १२ का २५ हजार ६ सय २८ सेवाग्राही लाभान्वित हुने
  • सगुन कन्सट्रक्सन बुटवलले २०८१ जेठ १२ भित्र काम सक्ने
  • सम्झौता २०७९ साल साउन १३ मा भएको
  • योजना संझौता रकम २९ करोड ४० लाख ३० रुपैँया
  • ५ हजार १६४ निजी धारा बन्ने

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं २, ३, ४ र १२ का २५ हजार ६ सय २८ सेवाग्राही लाभान्वित हुने गरि निमार्ण हुन लागेको धादिङबेसी सह–लगानी खानेपानी आयोजनाको शिलान्यास भएको छ ।

धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले उक्त आयोजनाको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै मेयर ढुङ्गानाले नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको र सफल भएको बताए । ढुङ्गानाले तोकिएकै समयमा गुणस्तरीय ढङ्गले योजना निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिदैं प्राविधिक र उपभोक्ता समितिलाई सहजीकरण र गुणस्तर कायममा अनुगमन गर्न समेत आग्रह गरेका थिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र नीलकण्ठ नगरपालिकाको संयुक्त लगानी २९ करोड ४० लाख ३० रुपैँयाको लागतमा ५ हजार १६४ निजी धारा बन्ने नगरपालिकाले जनाएको छ । यस आयोजनाबाट नीलकण्ठ नगरपालिका वडा नं २, ३, ४ र १२ का २५ हजार ६ सय २८ सेवाग्राही लाभान्वित हुने छन् ।

सो कामका लागि योजना निर्माणको जिम्मा सगुन कन्सट्रक्सन बुटवलले २०८१ जेठ १२ भित्रमा सक्ने गरी अगाडि बढाएको छ । उक्त अयोजनाको सम्झौता २०७९ साल साउन १३ मा भएका थियो । आयोजनाको ठेक्का अनुसार काम भए नभएको अनुगमन गर्न नेकपा एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठगोर्खाली जिम्मा दिइएको नगरपालिकाले जनाएको छ ।

नीलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा मेयर ढुंगानाको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो ।