बागमती प्रदेशमा अपराध जन्य मुद्दा बढ्दो

Avatar photo
Dhadingpost
साउन २२, २०७९

काठमाडौं । बागमती प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/०७९ मा अपराध सम्बन्धी मुद्दा दर्ता बढेका छन् । प्रदेशको काठमाडौं उपत्यका बाहेका १० जिल्लामा १ दशमलव ४० प्रतिशतले अपराध सम्बन्धी मुद्दा दर्ता बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

कार्यालयका अनुसार। अघिल्लो आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा अपराध सम्बन्धी ४ हजार ३४३ मुद्दा दर्ता भएको थियो भने गत आर्थिक वर्षमा भने मुद्दा दर्ता संख्या बढेर ४ हजार ४०५ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा धेरै मुद्दा फछ्र्यौट भएको छ । गत आर्थिक वर्षमा अपराध सम्बन्धी ४ हजार ४०५ वटा मुद्दा दर्ता भएकोमा २ हजार ५११ वटा फछ्र्यौट गरिएको छ भने १ हजार ८९४ वटा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिए ।

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका ४ हजार ३४३ वटा मुद्दामध्ये २ हजार ३६६ वटा फछ्र्यौट गरिएको थियो भने १ हजार ९७७ वटा मुद्दा गत आर्थिक वर्षको लागि जिम्मेवारी सरेर आएको थियो ।