धादिङका ‘बेगे’ पक्राउ, उनको घरबाट ३ वटा पेस्तोल बरामद

Avatar photo
Dhadingpost
साउन १८, २०७९

धादिङ । धादिङका बेग बहादुर तामाङ ‘बेगे’ पक्राउ परेका छन् । लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा पक्राउ परेका ‘बेगे’ को घरबाट ३ थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

उनी ग १ ज ६७५३ नम्बरको मस्ताङ फोर्स गाडीमा धादिङ आउँदै थिए । पछाडी सिटमा यात्रा गरि आएका उनको साथबाट शुरुमा एक किलो फाइन गोल्ड (सुन) १ थान, ५० को ९७ वटा अमेरिकी डलर, सय दरको अमेरिकी डलर १६३ वटा फेला परेको थियो ।

पक्राउपछि बयानको क्रममा थप शंकाष्पद देखिएपछि प्रहरीले उनको घरमा समेत छापा मारेको थियो । प्रहरीले उनको घरमा प्रहरी इन्सपेक्टरको टोली खटाएर छापा मारेको थियो । घरमा छापा मार्ने क्रममा एक थान अमेरिकी पेस्तोल, एक थान थाइनिज पस्तोल र अर्को एक थान कटुवा पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ ।

उनको घरमा लुकाइराखेको अवस्थामा २० राउन्ड गोली, कटुवामा लाग्ने १ थान गोली पनि बरामद भएको थियो । एक किलो फाइन गोल्ड लेखिएको सुन र ५०० ग्राम लेखिएको सुन जस्तो देखिने ४ थान बिस्कुट आकारको सुन फेला पारेको छ । प्रहरीका अनुसार उनको साथबाट ४ किलो सुन बरामद भएको छ । उनीसँगै प्रहरीले शोभा तामाङलाई पनि पक्राउ गरेको छ । स्रोतका अनुसार पक्राउ परेका तामाङ नेकपा एकीकृत समाजवादी निकट हुन् ।