
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले पद छाडेको घोषणा गरेका हुन् ।
राजिनामा दिँदै उनले पत्रकारलाई भने, ‘मैले राजीनामा दिँदा पनि क्यानलाई भनेको छु । म अब क्यानडा फर्कनेछु । अहिले घरबाट बाहिर गएर काम गर्न सक्ने अवस्था छैन । यदि काम गरिहालें पनि क्यानडामा बसेर घरबाट स्थानीय क्रिकेटमा गर्छु । मलाई थाहा छ अमेरिकी लिगको टोलीमा नाम जोडिएको छ, तर त्यो सम्भव छैन,’ उनले बताए ।
पाल क्रिकेट संघ (क्यान) ले पुबुदुले राजीनामा दिएको पुष्टि गरेको छ । क्यानको क्रिकेट म्यानेजर बिनोद दासले पुबुदुले राजीनामा बुझाईसकेको पत्रकार सम्मेलनमा जानकारी गराए ।
दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन् । क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । पुबुदुलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ । तर, दोस्रो कार्यकालमा उनी सफल भएनन् । यस अघि पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो ।
