
धादिङ । नीलकण्ठ नगरपालिकाको नगर कार्यपालिकामा दलित एवम् अल्पसंख्यक तर्फका तीन पार्टीका ३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कांग्रेसका बिशाल रोक्का, माओवादी केन्द्रका लक्ष्मण रम्तेल र एकीकृत समाजवादीका कुलमान विश्वकर्मा रहेका छन् ।
कांग्रेसका रोक्का नीलकण्ठ ५ का हुन् ०७४ को स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा झिनो मतले पराजित उनी यो पटक पनि उम्मेदवारका दावेदार थिए तर उनले टिकट पाउन नसकेपछि कांग्रेसको तर्फबाट कार्यपालिकामा स्थान सुरक्षित गरेका हुन् । माओवादीबाट कार्यपालिका सदस्यमा आउन सफल लक्ष्मण रम्तेल लक्की ड्र गर्दा वडा अध्यक्षमा पराजित भएका थिए । उनको र कांग्रेसका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ को मत बराबर भएपति गोला गर्दा रम्तेल पराजित भएका थिए । उनलाई गठबन्धनको समर्थनमा कार्यपालिकामा ल्याईएको हो ।
नगर कार्यपालिकामा महिला तर्फ ५ जना चाहिनेमा कांग्रेसबाट ५ जना र माओवादी केन्द्रबाट १ जना गरि ६ जनाको उम्मेदवारी परेपछि बिहिबार बिहान ७ बजेबाट मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसबाट चिनामायाँ श्रेष्ठ, छनुमायाँ गुरुङ, मन्जु मगर, राम्री नेपाली, शान्ता थापा र माओवादी केन्द्रबाट कमला तामाङको उम्मेदवारी परेको छ ।
नीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका चुनावमा कांग्रेसको ४० भोट, माओवादी केन्द्रको २० भोट, एमालेको ५ भोट र स्वतन्त्रको ६ भोट रहेको छ । २४ सदस्यीय कार्यपालिका सदस्यमा ५ जनाको नतिजा आउनु पूर्व नै कांग्रेसको मेयर १ जना, ७ वडा र आज निर्वाचित १ सदस्य गरि ९ जना, माओवादी उपमेयर १ वडा अध्यक्ष ४ र आज विजयी १ सदस्य गरी ६ जना, स्वतन्त्र वडा अध्यक्ष २ जना, एमालेको वडा अध्यक्ष १ जना र एकीकृत समाजवादीबाट आज निर्वाचित १ जना गरी १९ जना चयन भैसकेका छन् ।
