निर्वाचनको दिन बैशाख ३० गते वर्षा हुने

Avatar photo
Dhadingpost
बैशाख २६, २०७९

काठमाडौं । दक्षिणी बंगालको खाडीमा आइतबार बनेर तटमा प्रवेश गरेको ‘असानी’ नामक सामुद्रिक आँधीको असर ३० वैशाख अर्थात् स्थानीय तह मतदानको दिनसम्म पर्न सक्ने प्रक्षेपण गरिएको छ । बंगालको खाडीबाट भारतको उत्तर–पश्चिमतिर अगाडि बढिरहेको सामुद्रिक आँधीका कारण नेपालमा पनि केही दिन वर्षा हुने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको हो । मतदान अघिसम्म केही सक्रिय हुने ठानिएको सामुद्रिक आँधीको प्रभाव ३० वैशाखमा भने केही कम हुने ठानिएको छ ।

‘जलवाष्पयुक्त हावा स्थानीय वायुमा मिसिएको छ,’ महाशाखाका मौसमविद् हिरा भट्टराईले भने, ‘यस्तो अवस्थामा घाम–पानी हुने सम्भावना छ, जस्तो आइतबार भएको छ । मतदानका दिनसम्म सामुद्रिक आँधी केही कमजोर हुने भए पनि पानी भने पर्ने आकलन गरेका छौँ । यसको असर पूर्वीनेपाल र काठमाडौं उपत्यकासहितका क्षेत्रमा केही बढी पर्न सक्छ ।’

महाशाखाले विशेष बुलेटिन जारी गर्दै चुनावमा पानी पर्न सक्ने जानकारी नै गराएको हो । ‘उत्तरपश्चिम (भारत)तर्फ सर्ने क्रममा रहेको सामुद्रिक आँधी ३० वैशाखसम्म कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना रहेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । महाशाखाका अनुसार मतदानका दिन प्रदेश १, काठमाडौंसहित बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुन सक्छ । प्रिमनसुनका लागि यो ठूलै वर्षा हो । सोही दिन मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । भारतको पश्चिम बंगाल, उडिसा र आन्ध्र प्रदेशलगायत उत्तर–पश्चिम क्षेत्रमा ‘अलर्ट’ जारी गरेको त्यहाँको मौसम विभागले मंगलबार तीव्र गतिको हावाहुरीसहित वर्षाको प्रक्षेपण गरेको छ ।

मतदानभन्दा अघिका दिनमा भने मौसम अझ प्रतिकूल हुने आकलन गरिएको छ । महाशाखाले विशेष बुलेटिनमा उल्लेख गरेअनुसार बुधबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यसको असर खासै नपर्ने आकलन गरिएको छ ।

मतदानको अघिल्लो दिन पनि प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिममा भने थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तर, तराईमा हावाहुरीको सम्भावना पनि छ । ‘यो आँधीले हिमाली क्षेत्रमा खासै असर गर्दैन, तर तराईमा भने हावाहुरीसमेत चल्न सक्छ,’ उनले भने ।

हिरा भट्टराई, मौसमविद्, मौसम पूर्वानुमान महाशाखा

जलवाष्पयुक्त हावा स्थानीय वायुमा मिसिएको छ । यस्तो अवस्थामा घाम–पानी हुने सम्भावना छ, जस्तो आइतबार भएको छ । मतदानका दिनसम्म सामुद्रिक आँधी केही कमजोर हुने भए पनि पानी भने पर्ने आकलन गरेका छौँ । यसको असर पूर्वीनेपाल र काठमाडौं उपत्यकासहितका क्षेत्रमा केही बढी पर्न सक्छ ।

मतदानको भोलिपल्ट : मतदानको भोलिपल्ट शनिबार भने प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका केही क्षेत्रमा मात्र हल्का वर्षाको सम्भावना छ । स्थानीय वायु सक्रिय बनेका वेला भक्तपुरमा पानी पर्ने, तर काठमाडौंमा घाम लाग्ने पनि हुन सक्छ । तर, सामुद्रिक आँधीको पनि असर मिसिएर जलवाष्पयुक्त हावा मिसियो भने एकनास देशभर (बर्खाझैँ) पानी पर्ने हुन्छ । जस्तो गत हप्ता देशभर पानी परेको थियो । नयाँ पत्रिकाबाट

x