
धादिङ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबार देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । केन्द्रिय कार्यक्रम अुसार धादिङमा पनि मुख्य निर्वाचन कार्यालय सँगै जिल्लाका सबै पालिकामा निर्वाचन कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
धादिङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने, मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीले नियुक्त भएका छन् । धादिङबेशीमा १ मुख्य निर्वाचन अधिकृतको कार्यालय र १२ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय धादिङका सन्तोष श्रेष्ठले बताए ।
धुनीबेसीको निर्वाचन अधिकृत सर्वोच्चका इजलास अधिकृत राजकुमार आचार्य, खनियाबासमा योजना आयोगका उप सचिव गोकुल खड्का, गंगाजमुनामा मालपोत धादिङका प्रमुख रामकृष्ण तामाङ, गजुरीमा प्रधानमन्त्री कार्यालयका उप सचिव चक्रपाणि शर्मा, गल्छीमा समाजिक विकास मन्त्रालयका अधिकृत दिपेन्द्र सुवेदी रहेका छन् ।
त्यसैगरी ज्वालामुखीमा सम्पत्ति सुद्धिकरण विभागमा कार्यरत उप सचिव हिरामणि सुवेदी, थाक्रेमा संघिय मामिला मन्त्रालयमा कार्यरत उप सचिव महेन्द्र प्रसाद साखी, त्रिपुरासुन्दरीमा उपन्यायाधिवक्ता गोपाल लामिछाने, नेत्रावती डवजोङमा उपन्यायाधिवक्ता कला पौडेल , बेनीघाट रोराङमा उपन्यायाधिवक्ता खेमराज पाठक, रुबीभ्यालीमा सर्वोच्चका इजलास अधिकृत भीमप्रसाद सुवेदी र सिद्धलेकमा जिल्ला अदालत धादिङका स्रेस्तेदार खुमप्रसाद भण्डारी निर्वाचन अधिकृतका रुपमा रहेका छन् ।
निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नेगरी २२ दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताईएको । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ । ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको हो ।
उनले निर्वाचन आचारसंहिता पालना भए नभएकोसमेत जाँचबुझ गर्ने जानकारी दिए । आयोगले प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा करिब १० जना कर्मचारी रहने व्यवस्था गरेको छ । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।




























