वाईसीएल नीलकण्ठको अध्यक्षमा रेगन श्रेष्ठ चयन

Avatar photo
उपेन्द्र जम्कट्टेल
चैत्र २८, २०७८

धादिङ । धादिङबेसीमा सम्पन्न योङ कम्युनिष्ट लिग (वाईसीएल) नीलकण्ठ नगरपालिकाको अध्यक्षमा रेगन श्रेष्ठ चयन भएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वाईसीएल नेपालका इन्चार्ज राम प्रसाद सापकोटा (दिपशिखा) को प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको नगर सम्मेलनले रेगनको अध्यक्ष रहेको ५१ सदस्यीय नगर कमिट गठन गरेको हो ।

सम्मेलनले उपध्यक्षमा प्रकाश थापा, कृष्ण बहादुर रम्तेल, र जुनकिरि गुरुङ, सचिवमा साजन बि.क., सह सचिवमा हरि श्रेष्ठ, रामकृष्ण सापकोटा, सुर्य तामाङ, गोकुल ठकुरी, सरिता रिजाल, धन बहादुर तामाङ र सुबिलाल तामाङ, कोषध्याक्ष कृष्ण कुमार श्रेष्ठलाई चयन गरेको छ ।

सम्मेलन उद्घाटन गर्दै दिपशिखाले हिजो माओवादी जिताउन लागेको वाईसीएल अब सत्ता गठबन्धनका उम्मेदवार जिताउन लाग्नु पर्ने भएकोले अबको एक महिना नसुत्ने, नथाक्ने र नझुक्ने प्रतिवद्धताका साथ चुनावी प्रचारमा लाग्न निर्देशन गरेका हुन् ।

बैशाख ३१ पछि स्थानीय तहमा कांग्रेस पहिलो पार्टीर माओवादी दोस्रो पार्टी बन्ने दावी गर्दै उनले एमालेको अबको स्थान चौथो हुने बताए । हामी संविधानका रक्षकहरुको गठबन्धन भएकोले एमाले अतालिएको छ, जव मान्छे डराउँछ तव चिच्याउँछ यति बेला केपी वली र उनका कार्यकर्ता चिच्याउन थालेको र वर्वराउन थालेको बताउँदै गठबन्धनका कार्यकर्ताहरु माथि कतै धावा बोल्ने चेष्टा भयो भने वाईसीएल जागै रहेको उनले बताए ।

हामी चुनाव जित्ने हो, एमालेलाई हराउने हो, त्यसैका लागि गठबन्धन बनेको हो । गठबन्धका उम्मेदवार जुन पार्टीका हुन् वाईसीएलले चिन्दैन जिताएर विजयी उत्सवमा सहभागि हुने उनले बताए ।

देशभर गठबन्धनले एउटा मापदण्ड बनाएको छ, गठबन्धनका दलका उम्मेदवारहरुले ०७४ मा जुन जुन पालिका र वडामा जितेका थिए ति ठाउँहरुमा त्यहि दलका उम्मेदवार हुन्छन् भने एमालेले जितेका ठाउँहरु बाड्ने हो । बाड्ने क्रममा कथम कदाचित कतै मिल्न सकेन भने सिङ्गल सिङ्गल लड्ने हो तर गठबन्धनका दलहरु गठबन्धन बाहिर गएर तालमेल गर्न नपाईने दिपशिखाले बताए ।

बाईसीएलको नीलकण्ठ नगर अधिवेशनमा माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव, दलबहादुर बुर्लाकोटी, वाईसीएलका केन्द्रीय अध्यक्ष सुमन देवकोटा, माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।