
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा वा बर्खास्त गर्न माग गरिएको छ । नेपाली कांग्रेसका अर्थविद्हरुले लिखित दस्तावेज नै प्रस्तुत गरेर अर्थमन्त्री हटाउन माग गरेका हुन् भने केन्द्रीय सदस्य प्रकाश स्नेहीलगायतले बोल्ने क्रममा शर्मा असक्षम भइसकेको भइसकेको बताउँदै बर्खास्त गर्ने वा राजीनामा दिनेमध्ये एक विकल्पमा अघि बढ्नुपर्ने बताएका थिए ।
केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । उनले भने, ‘पार्टीका अर्थविद्हरुको समूह (योजना आयोगका पूर्वउपाध्यक्षसमेत) ले अर्थमन्त्री असफल भएको भन्दै लिखित दस्तावेज नै प्रस्तुत गर्नुभएको छ। हामीले पनि राजीनामा वा वर्खास्त गर्न माग गरेका छौं ।’
स्नेहीले शर्माको असक्षमताका कारण नेपालको हालत श्रीलंकाको जस्तो हुनेमा आफूहरुले सचेत गराएको बताए । उनले अर्थमन्त्री शर्मा अर्थविद् नभएकाले संकट झन् गहिरिने हुनाले समयमै समाधान खोज्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएको बताए । उनले थपे, ‘निर्वाचन आयोगले माग गरेको बजेट दिन कति दिन लाग्यो? यो निर्वाचन त गरौंला ।
यही अवस्था रह्यो भने अर्को निर्वाचनमका लागि मतपत्र छाप्न समेत सकेनौं भने के हुन्छ ?’ अर्थमन्त्रालय माओवादीले नै राख्ने भएपनि शर्माको विकल्प भने जरुरी भएको बताए । आफूहरुका कुरा प्रधानमन्त्री देउवाले ध्यान दिएर सुनेको उनको भनाइ छ ।
