हेटौंडामा मानव अधिकार सम्बन्धी प्रादेशिक सम्मेलन हुँदै

Avatar photo
Dhadingpost
फाल्गुन १९, २०७८

हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी २ दिने प्रादेशिक सम्मेलन हुने भएको छ । सातवटै प्रदेशमा भोलि शुक्रबार र शनिबार एकै पटक सम्मेलन सुरु गरिने जनाइएको छ । हेटौंडामा पत्रकार सम्मेलन गर्दै मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारीले पहिलो पटक देशको ७ वटै प्रदेशमा प्रादेशिक सम्मेलन हुने बताएका हुन् ।

उनले २०७४ सालमा राष्ट्रिय सम्मेलनपछि पहिलो पटक प्रदेशमा सम्मेलन आयोजना गरिएको बताए । मानव अधिकार रक्षकको रक्षा, चुनौती, समस्याहरुलाई छलफल गरी एउटा घोषणापत्र तयार पारी सरकारलाई बुझाउने तयारी रहेको बताइएको छ । पत्रकार सम्मेलनमा आयोगका सदस्य तथा प्रादेशिक सम्मेलनको संयोजक लिली थापाले रक्षकले गरेको कामको आत्मसम्मान नपाउनुका साथै राज्यले सुरक्षा, सम्मान र काम गर्ने वातावरण सिर्जना नभएको बताइन् ।

प्रादेशिक सम्मेलनमा ३० वटा भन्दा बढी मानव अधिकारका संघसंस्थाका प्रतिनिधि, पत्रकार महासंघका गरी कूल १३० जनाले सहभागिता जनाउने बताइएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितीमा सम्मेलनको उद्घाटन गरिने अधिकारीले बताए । सात वटै प्रदेशमा मुख्यमन्त्रीले नै उद्घाटन गरिने कार्यक्रम तय भएको छ । सम्मेलन पश्चात उठेका विषयवस्तुलाई तयार पारी सरकारलाई एकमुष्ट बुझाउने अधिकारीले बताए ।