
हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशका ६ जिल्ला अस्पताल र एक आयुर्वेद केन्द्रमा अध्यक्ष नियुक्त गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट मन्त्री निमा लामाले बागमती प्रदेशका ६ जिल्ला अस्पताल र एक आयुर्वेद केन्द्रमा अध्यक्ष नियुक्त गरेका हुन् । मन्त्रीस्तरीय निर्णयबाट जिल्ला आयुर्वेद केन्द्र मकवानपुमा सुदिप बर्तौला, सिन्धुली अस्पतालमा विजय कुँवर, भक्तपुर अस्पतालमा रमण कायस्थ, रामेछाप अस्पतालमा यमकुमार पाख्रिनलाई अध्यक्ष नियुक्त गरिएको छ ।
त्यस्तै, चौतारा अस्पताल सिन्धुपाल्चोकमा टंकबहादुर कार्की, बज्रबाराही चापागाउँ अस्पताल ललितपुरमा कृष्णचन्द्र महर्जन र चरिकोट अस्पतालमा जयराम श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको छ ।
मन्त्रालयले यसअघि प्रदेश अन्तरगतका १२ अस्पताल र १३ आयुर्वेद केन्द्रहरुका अध्यक्षहरुलाई यसअघि नै हटाएको थियो । मन्त्रालयले उनीहरुसंग कार्यसम्पादनबारे स्पष्टिकरण मागेको थियो । कतिपयले जवाफ पठाएका थिए भने कतिपयले वेवास्ता गरेका थिए । उनीहरुलाई कार्य क्षमताको अभावका आधारमा हटाईएको जनाईएको छ ।
प्रदेशभित्रका अस्पतालको सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) २०७८ को दफा ३ को उपदफा ३(क) मा संचालन तथा व्यवस्थापन समितिमा मनोनित सदस्यले मन्त्रालय समक्ष राजिनामा दिएमा, मृत्यु भएमा, फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा, कार्य क्षमताको अभाव भई मन्त्रालयले पदमुक्त गरेमा सदस्यहरुको पद रिक्त हुने प्रावधान रहेको छ ।

