वडाध्यक्ष भीमबहादुर गुरुङ भ्रष्टाचार आरोपमा निलम्बित

Avatar photo
Dhadingpost
माघ १८, २०७८

कास्की । स्याङ्जाको भीरकोट नगरपालिका–९ का वडाध्यक्ष भीमबहादुर गुरुङ र सदस्य कुलबहादुर गुरुङ भ्रष्टाचारको आरोपमा निलम्बित भएका छन् ।

गुरुङद्वयले स्थानीय एक महिलालाई नागरिकता बनाउन रकम लाग्ने बताउँदै १ लाख ३५ हजार रुपैयाँ घूस लिएको आरोप छ । स्थानीयले २०७५ माघ २२ मा वडाध्यक्ष र सदस्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी दिएका थिए ।

पोखरा अख्तियारले उक्त मुद्दा एक वर्ष अध्ययन गरेपछि २०७६ माघमा उक्त फाइल आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा पठाएको थियो । आयोगले मुद्दा अनुसन्धान गर्दा वडाध्यक्ष र सदस्यले पीडित महिलाबाट रकम लिएको ठहर भएको भन्दै विशेष अदालत काठमाडौंमा पुस २९ मा आरोपपत्र दायर गरेको थियो ।

मुद्दा दर्ता भएको दिनदेखि नै वडाध्यक्ष र सदस्य निलम्बित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख कोषहरि निरौलाले जानकारी दिए । उनका अनुसार वडाध्यक्षले आर्थिक प्रलोभनमा परी दोस्रो नागरिकता बनाउन सिफारिस गरेको ठहर भएको छ ।
मुद्दाको फैसला नहुँदासम्म गुरुङद्वयले वडा कार्यालयमा गएर नियमित काम गर्न नपाउने निरौलाले बताए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को १ बमोजिम कसुरमा १ लाख ३५ हजार कायम गरी उक्त ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड घ बमोजिम सजाय र घूसबापतको रकम सेवाग्राहीलाई नै फिर्ता दिलाउन आयोगले विशेष अदालतसँग माग राखेको छ ।