धादिङ अस्पतालको ४५ औं वार्षिकोत्सव मनाईयो

Avatar photo
Dhadingpost
मंसिर २६, २०७८

धादिङ मंसिर २६ । धादिङबेसी सदरमुकामका रहेको जिल्ला अस्पताल धादिङको ४५ औं वार्षिक उत्सव भव्य समारोहका बीच मनाईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा धादिङ अस्पतालले आफ्नो ४५ औं वार्षिक उत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा अस्पतालले विधागत रुपमा उत्कृष्ट स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीले विभिन्न गीतमा नृत्य देखाएका थिए ।

वार्षिकोत्सव उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले धादिङ अस्पताललाई ५० बाट बढाएर १०० शैयाको बनाईने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झा ले ५० वेडमा सेवा उपलब्ध गराइरहेको धादिङ अस्पतालले ५० वेडकै आइसोलेशन पनि संचालन गरिरहेको, २ वटा अक्सिजन प्लाण्ट संचालन, १० बेडको आइसियु, ५ ओटा भेन्टिलेटर पनि संचालनमा गरिरहेको र पिसिआर ल्याब संचालनको तयारीमा रहेको बताएका थिए ।