धादिङका डा. राजाराम कार्कीद्वारा महामन्त्री पदका लागि उम्मेदवारी दर्ता

Avatar photo
Dhadingpost
मंसिर २५, २०७८

धादिङ मंसिर २५ । नेपाली कांग्रेस धादिङका नेता तथा सांसद डा. राजाराम कार्कीले कांग्रेसको जारी १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिएका छन् ।

धादिङका कार्की सहित महामन्त्री पदमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा र विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन् ।

यस अघि शेर बहादुर देउवाका विस्वास पात्रका रुपमा चिनिएका धादिङका कार्कीले समूह परिवर्तन गर्दै विमलेन्द्र निधि समुहबाट महामन्त्रीमा उम्मेदवारी दिएका हुन् भने महामन्त्री पदका अन्य उम्मेदवारहरु महत र पौडेल सभापति देउवा, रिजाल र थापा, कोइराला, शर्मा प्रकाशमान सिंह समुहका हुन् ।

सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै ८ सहमहामन्त्री पदका लागि २० जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुनेछन् ।

देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।