
सविन केसी
प्रतिस्पर्धी भीम रावललाई करिव ११ प्रतिशत मतमा सिमित गर्दै केपी शर्मा ओली पुनः एमाले अध्यक्ष निर्वाचित भए । उनले १ हजार ८ सय ०८ मत ल्याउदै गर्दा रावलले २ सय २३ मत मात्र पाए । रावलकै कारण सर्वसम्मत बन्ने ओलीको मनासाय सफल हुन सकेन । पदाधिकारी र केन्द्रीय सदस्य मिलाउनमा निकै सकस मानिएको अवस्थालाई उनले निर्वाचन मार्फतै भए पनि सहज अवतरण गराए । महाधिवेशनको परिणाम पनि लगभग ओलीकै छनोटमा गएको प्रस्ट देखियो। सरसर्ती हेर्दा ओलीले आफूलाई मात्रै जिताएनन्, सक्रमणकालिन अवस्थामा सक्रियतापूर्वक साथ दिएकाहरुलाई पनि टिममा सम्मानजनक स्थान दिए । माओवादी छोडेर राजनितिक जटिलताका बेला आफुलाई साथ दिएकाहरुलाई पनि उनले प्रश्न राख्ने ठाउँ दिएनन भन्दा फरक नपर्ला ।
सकसलाई जित्न सफल ओलि
२००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका ओलिको बाल्यकाल त्यति सहज थिएन । एक निम्नवर्गिय गरिव परिवारमा हुर्किएका उनको बाल्यकालका केही पलहरु निकै संघर्षमय रहेको कुरा उनको जीवन वृतान्तहरुबाट थाहा पाउन सकिन्छ । डेढ वर्षको हुँदा आमा गुमाएका उनी ३–४ वर्षको उमेरमा पिता मोहनप्रसादका साथ झापा झरे । पछि बाढीले घर बगाउदा सुकुम्बासी सम्मको अबस्थामा समेत पुगे र केही समय आफन्तको घरमा बसे ।
बाल्यकालमै मातृ वात्सल्यबाट बिमुख बनेका ओलीले रामनाथ दाहालको घरमा काम गर्दै पढ्न थाले । सोही समयमा रामनाथकै प्रेरणाले बाल्य अवस्थामै उनी कम्युनिष्ट बिचारलाई आत्मसात गर्दै अघि बढ्न थाले । बाल्यकालमा अभाव टार्न अरूकोमा काम गर्न वाध्य ओली २०२३ सालमा माक्र्सवादी अध्ययन दलको सदस्यको रुपमा कम्युनिस्ट राजनीतिमा औपचारिक रुपमा आफुलाई समाहित गरे । पिताको सामान्य किसानीबाटै घर चल्दै आएको उनको घरम आगलागी समेत भयो जतिबेला उनी पहिलो पटक गृहमन्त्री बनेका थिए। सहि समयमा सरकारले दिएको क्षतिपूर्तिबाट उनका पिताले सामान्य घर बनाएका थिए ।
राजनितिक इतिबृत्ती
२०२३ सालमा माक्सवादी अध्ययन दलमा संगठित भएका ओली २०२५ सालबाट पूर्णकालीन राजनीतिक कार्यकर्ता भए । लगत्तै २०२६ माघमा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे । २०२७ जेठ ९ गते देखि भूमिगत जीवन सुरु गरेका ओली २०२७ फागुन १६ गते पहिलो पटक झापाबाट गिरफ्तारिमा परे । उनको राजनितिक गिरफ्तारीको ईतिहास हर्ने हो भने २०२७ देखि २०३० सम्ममा १० पटक गिरफ्तार हुँदै रिहा हँदै गरे । २०२९ सालमा झापा आन्दोलन संगठन कमिटी प्रमुखमा मनोनित भएका उनी आन्दोलनमा सहभागी भएकै कारण २०३० असोज २३ गते राज्य विरुद्ध विध्वंसात्मक कार्यमा संलग्न रहेको आरोपमा गिरफ्तार भए र १४ वर्ष सम्म जेल सजाय भोगे र २०४४ असार ११ गते जेलबाट रिहा भए ।
त्यसो त ओलीले आफू जेलमै रहँदा २०३५ पुस ११ नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी–लेनिनवादी) का संस्थापक नेताको हैसियत प्राप्त गरे । यसबाट उनको राजनीतिक जीवन अझ मजबुद र जिम्मेवार बन्न पुग्यो । जेलबाट रिहा भएको केहि महिनापछि २०४४ पुस २ गते बसेको नेकपा (माले) को केन्द्रीय कमिटी बैठकबाट उनी केन्द्रीय सदस्यमा मनोनयन भए । २०४६ सालमा तत्कालिन नेकपा (माले) को लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी बहन गरे ।
२०४७ जेठ १ मा पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष हुँदै २०४७ पुस २२ नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकीकरण भई स्थापित नेकपा (एमाले) का संस्थापक केन्द्रीय सदस्य चयन हुन सफल भएका थिए ।
मुलुकमा बहुदलीय व्यवस्था स्थापनापछि २०४८ मा पहिलो आमनिर्वाचनमा झापा ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी २०५० सालमा केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारी सहित पोलिटब्युरो सदस्य निर्वाचित भए भने २०५१ को मध्यावधी निर्वाचनमा झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भए । सोहि वर्ष मंसिर १४ गते पहिलो पटक कम्युनिस्ट पार्टीको नेतृत्वमा गठित सरकारमा गृहमन्त्री बनेका ओली २०५१ सालमै पार्टी संसदीय विभाग प्रमुख चयन भए ।
२०५४ माघमा पार्टीको छैटौं राष्ट्रिय महाधिवेशनमा उनले प्रस्तुत गरेको कार्यनीतिगत प्रस्ताव अत्यधिक मतद्वारा पारित भए संगै स्थायी समिति सदस्यमा निर्वाचित भए भने विदेश विभाग प्रमुखको जिम्मेवारी पनि प्राप्त गरे । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा उनि झापा ६ बाट निर्वाचित भए । २०५६–२०५९ सम्म संसदमा प्रमुख प्रतिपक्षी दलका उपनेता भए । त्यसो त २०५७ माघ १९ पछि तात्कालिन राजा ज्ञानेन्द्रको कु संगै उनी नजरबन्दमा पनि परे । उनले २०५९ माघमा पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रीकरण र बहुपदीय प्रणाली सुरु गर्ने प्रस्ताव प्रस्तुत गरे । प्रस्ताव अर्को महाधिवेशनसम्मका लागि स्थगन भयो । स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुनः निर्वाचित भए ।
२०६३ सालमा संसद् पुनःस्थापनापछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा विदेशमन्त्री भएका उनी २०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए । २०६५–६६ मा पार्टीको केन्द्रीय पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी निर्वाह गरे । २०६५ फागुनमा भएको नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशनमा उनि अध्यक्ष पदको प्रत्यासी भए तर तत्कालीन अध्यक्ष झलनाथ खनालद्वारा पराजित भए । अध्यक्ष पदमा पराजित भए पनि विदेश विभाग प्रमुखको जिम्मेवारीसहित स्थायी समितिमा निर्वाचित भएका थिए ।
प्रधानमन्त्री ओलि २०७० मंसीरमा झापा ७ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । २०७० माघ २१ गते तत्कालीन पार्टी अध्यक्ष खनाललाई पराजित गर्दै संविधानसभा तथा व्यवस्थापिका–संसदमा दलका नेतामा निर्वाचित भए । २०७१ साउन १ गते नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भए । केपि ओली संसदबाट नयाँ संविधान जारी भएपछि २०७२ असोजमा व्यवस्थापिका संसदबाट नेपालको ३८ औं प्रधानमन्त्रीको रुपमा प्रधानमन्त्री पदमा निर्वाचित भए । उनकै कार्यकालमा मुलुकले भारतद्वारा अघोषित नाकाबन्दी सामना गर्नुपर्यो । जसलाई ओलीले कडा रूपमा प्रतिवाद गरे । जसका कारण उनी नेपाली जनता सामु लोकप्रिय भए ।
२०७३ साउन ९ मा व्यवस्थापिका संसदमा संबोधन गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएका उनले २०७३ साउन २० गते नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाललाई सत्ता हस्तान्तरण गरे । पछि फेरि २०७४ फागुन ३ गते माओवादी सहित बहुमतको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१ औं प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए । यसरी राजनितिक जिवनमा अनेक समस्या र अवसरको बीचमा रहेर तिखारिदै आएका ओलीले वर्तमान लोकतान्त्रिक गणतन्त्रको प्रत्याभुती सम्म आइपुग्दा आफुलाई कुटिल रुपमा प्रस्तुत गर्दै आईरहेका छन् ।
१४ वर्षसम्म कठोर जेल जीवन बिताएका केपी शर्मा ओली मुलुककै सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा पनि उदाए। दुईतिहाइ बहुमत पाएर प्रधानमन्त्रीसमेत बनेका उनले जनयुद्धबाट आएको पार्टीलाई एमालेसँग मिसाएर१ पछि पार्टी फुटेपछि छिन्न भिन्न भएका कार्यकर्तालाई समेटेर पार्टीलाई सम्मान जनक रुपमा अधि बढाए ।
यति मात्र होइन ओलीले मुलुकको प्रधानमन्त्री भइसकेका नेताहरूलाई पार्टी भित्रका विभिन्न निर्वाचनमा सहज पराजित गरेका छन। संसदीय दलको निर्वाचनमा तत्कालीन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरे, त्यसपछि पार्टीको महाधिवेशनमा अर्का पूर्वप्रधानमन्त्री तथा १४ वर्षसम्म पार्टी प्रमुख बनेका माधव नेपाललाई पराजित गरे । यति मात्र होईन उनले बहालवाला प्रधानमन्त्री तथा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालालाई समेत पराजित गरेका थिए । अहिलेको पार्टीको १० औं महाधिवेशनमा भने उनको सर्वसम्मतको चाहनालाई भिम रावलको कारण निर्वाचनमा धकेल्न बाध्य भए र प्रतिस्पर्धी भीम रावललाई १६१४ मतको भारी अन्तरले पराजित गर्दै पुन एमालेको अध्यक्ष हुन सफल भएका छन ।
ओलीको आगामी चुनौति
२०४८ ताका विश्व बिख्यात पत्रिका न्युजविकले मदन भण्डारीको अन्तर्वार्तामा समेटेको थियो ूइन नेपाल कार्ल मार्क्स लिभ्सू । यो भनाईबाट प्रष्ट हुन्थ्यो कि तात्कालिन एमाले महासचिव मदन भण्डारिलाई विश्व स्तरमै कार्ल मार्क्स संग तुलना गर्ने अवस्था आईसकेको थियो । त्यसो त २०४९ सालमा उनले प्रतिपादन गरेको ूजनताको बहुदलिय जनबाद (जवजं ले उक्त पत्रिकाको लेखलाई थप सघाउ पुर्याएको थियो । त्यस यता नेकपा एमालेले सोही सिद्धान्तलाई आफ्नो पार्टीको मार्गदर्शक मान्दै आएको छ । जवजलाईनै आफ्नो मार्गदर्शन मान्दै आएका एमाले नेता पुन दोश्रो कार्यकालको लागि एमाले अध्यक्षमा निर्वाचित भएका छन् । जबजलाई स्वीकार्दै लोकतान्त्रिकि करणलाई आत्मसाथ गरेको एमालेले नेपाली राजनितिमा दर्विलो प्रभाव पारिरहेको छ । तर पछिल्लो समय भने पार्टी भित्रकै आन्तरिक मतभेदले यो शक्ति छिन्नभिन्न अवस्थामा पुगेको छ । देशको राजनितिनै संक्रमणको अवस्थामा रहेको परिप्रेक्षमा अनेक चुनौतिका बीच प्रतिस्पर्धी भिम रावललाई भारी मतान्तरले पराजित गर्दै ओलीले एमालेको जिम्मेवारी पुन सम्हालेका छन् । नेतृत्व चयन हुदै गर्दा उनको आगामी यात्रा सहज भने हुने देखिदैन । खासगरी आन्तरिक र बाह्य परिस्थितिका कारण उनी हिजो पनि अफ्ट्यारोमा थिए र भोलि अझै अप्ठ्यारो पर्ने देखिन्छ ।
पार्टीभित्र नेतृत्व चयनका विषयको मतान्तर अनि बाह्य रूपमा विभाजन भएर गएको माधव नेपाल पक्षको प्रभाव छ एमालेमा प्रत्यक्ष पर्ने देखिन्छ । यी दुबैले पार्टी संगठन आगामी निर्वाचनमा एमालेलाई कस्तो प्रभाव पार्ला चौतर्फी चासो बनेको छ । गठबन्धनको घेराबन्दी छिचोल्दै एकल पहिलो शक्ति हुने मुख्य चुनौती ओलिको लागि ढुङ्गा चपाए भन्दा कम नहोला ।
उनी अहिले तात्कालीन र दीर्घकालीन महत्वका थुप्रै चुनौतीका बीचमा छन् । अन्य नेता तथा बिष्लेषक हरुकै मत बुझ्ने हो भने पनि पार्टी र नेपाली राजनितिमा अहिलेकै वर्चस्व बचाइराख्ने, असन्तुष्ट मतहरूलाई सम्बोधन गरेर लैजाने, आरोपहरूको चित्तबुझ्दो जवाफ दिने, अन्य दलसँगको सम्बन्ध सुधार गर्दै आगामी चुनावमा ठूलो पार्टी बनाउने कुरा ओलीका मुख्य चुनौतीहरु हुन् ।
पार्टी भित्र भिन्न मतका साथ वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल सहितले पार्टी विभाजन गरेपछी एमालेमा ओली थप शक्तिशाली भएका बने । सांगठनिक र हैसियत दुबैमा टक्कर दिने नेता नहुँदा ओलीको एकल वर्चस्व हाबी हुँदै गयो । पार्टि भित्र हरेक पक्षमा ओलीकै निर्णय एमालेको पार्टिगत निर्णय हुणे अबस्था समेत आयो । एमालेको राष्ट्रिय महाधिवेशनको तयारी र परिणाम ले पनि यहि कुरालाई बल पुर्याउछ । त्यसो त अहिलेजस्तै पार्टीमा आगामी पाँच वर्ष सम्म आफ्नो वर्चस्व कायम राख्नु ओलीका लागि सामान्य चुनौती भने पक्कै होईन ।
ओलीको चाहना हुँदाहुँदै महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसक्नु , उनलाई चुनौती दिएका भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल र सचिवमा लडेका भीम आचार्य र टंक कार्कीसम्म लाई मिलाएर लानु उनको लागि निकै सकसको बिषय बन्न सक्छ । उता वरिष्ठ उपाध्यक्षको आसा गरेका सुवास नेम्वाङ र महासचिवको आस गएका विष्णु पौडेलसम्मको चासो सम्बोधन गर्न पनि एउटा चुनौती नै हो१ दसबुँदे सहमति गरेको पंक्ति र आफ्नै समूहभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गरेर लैजानुपर्ने पनि ओलीलाई चुनौती छ ।
महाधिवेशनलगत्तै केन्द्रीय कमिटीको पहिलो बैठकमा ओलीले एकताबद्ध पार्टी चुनौतीपूर्ण विषय रहेको संकेत आफैले गरिसकेका छन् । आपसको अन्तरविरोध निकै खतरनाक हुने र । एउटाले अर्कोलाई नसहने प्रवृत्तिले मान्छेलाई कहाँ पुर्याउँछ बुझ्नु पर्ने तर्क उनले राखिसकेका छन् ।
ओलीमाथि पार्टीभित्र र बाहिरबाट अनेकौं आरोप छन् । आन्तरिक लोकतन्त्र रोक्ने, फरक मतलाई निषेध गर्ने र आफैं गुटको राजनीति गर्ने आरोप पार्टीभित्रबाटै झाँगिरहेको र प्रधानमन्त्री हुँदा दुईपटक प्रतिनिधिसभा संसद् विघटन गरेको, सत्तामा हुँदा अन्य दलहरूप्रति अनुदार नीति लिएको, सत्ता बचाउन अनेकौं जालझेल गरेको कुराले पनि उनलाई चुनौती थपिदिएको छ ।
ओलिको अर्को मुख्य चुनौती भनेको आगामी चुनाब हो । एमले अध्यक्षमा ओलीको आगामी दिनमा राजनीतिक परीक्षणमा सफल हुने वा नहुने एक वर्षभित्र हुने तीन तहको चुनावको पतिणामले तय गर्नेछ । महाधिवेशनले आउँदो चुनावमा ठूलो जनादेशसहित राज्यको नेतृत्वदायी पार्टीका रूपमा स्थापित हुने प्रस्ताव पारित गरेको छ । सत्तारूढ दलको घेराबन्दी र गठबन्धनका बीच महाधिवेशनले पारित गरेको सो टार्गेट हासिल गर्नु ओलीलाई सहज पक्कै हुनेछैन ।
अघिल्लो आम चुनावमा माओवादी केन्द्रसँगको सहकार्यम एमालेले करिब दुईतिहाइ सिट हासिल गर्यो । प्रदेश २ बाहेकमा आफै सत्ता हाक्ने पनि बन्यो तर नेकपा भंग भएपछि एमालेले संघमा मात्रै होइन, सबै प्रदेशमा सरकार गुमाएको छ । सबै स्थानमा प्रतिपक्षी दल बनेको एमालेका अध्यक्ष ओलीले आगामी चुनावमा सशक्त बन्न पार्टीमा एकता हुनुपर्नेमा जोड दिदै आएका छन् ।
राजनीति विश्लेषकहरुकै तर्क बुझ्ने हो भने पनि आगामी निर्वाचनका आधारमा ओली र पार्टीमाथि प्रश्न उठ्न सक्ने देखिन्छ । उनिहरुका अनुसार आगामी चुनावमा एमालेको पोजिसन खस्कियो भने यावत प्रश्नको घेरामा ओलि पर्नेछन् जसको सहज उत्तर पाउन कठिन हुन सक्छ । ती निर्वाचन र एमालेबाहेकका दलहरूबाट भइरहेको घेराबन्दीलाई ओलीले कसरी चिर्छन त्यो आगामी दिनले देखाउला ।
