
काठमाडौं साउन १५ । यस अघिका प्रधान मन्त्री केपी ओलीले कोरोना खोपलाई प्राथमिकतामा राख्दै ६० लाख मात्रा खोप नेपाल भित्र्याएका थिए । ओली सरकारले आफैं खरीद गरेर र विभिन्न मुलुकले अनुदानमा र कोभ्याक्स कार्यक्रम मार्फत उक्त खोप ल्याएको थियो ।
ओली सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कूल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने गर्दछ ।
शेरबहादुर देउवाले पनि प्रधानमन्त्री भए सँगै खेपलाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कूल जनसंख्याको ६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने धारणा राखेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्यसेवा विभागअन्तर्गत परिवार महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार हालसम्म ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भइसकेको छ ।
कोभिशिल्ड २४ लाख ४८ हजार, भेरोसेल ५८ लाख र जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा खोप प्राप्त भएको छ ।
तीमध्ये कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा, वैदेशिक अनुदानबाट २९ लाख मात्रा, चीनबाट १८ लाख मात्रा र भारतबाट ११ लाख मात्रा रहेका छन् । यसैगरी सरकारले खरीद गरेर ५० लाख मात्रा ल्याएको छ । भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ४० लाख मात्रा रहेको छ ।
कति छ आउन बाँकी खोप
सरकारले चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग खरीद गरेर ६० लाख भेरोसेल खोप आगामी भदौ मसान्तसम्म र भारतबाट खरीद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौ पहिलो साता नेपाल आइपुग्ने तालिका छ ।
यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलका अनुसार कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करीब एक करोड ५० लाख मात्रा तथा बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ ।
उहाँले बालबालिका लागि लगाउने खोप खरीदको प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । सरकारको आगामी असोज मसान्तसम्म एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने र असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने कार्यतालिका छ समाचार स्रोत गोरखापत्र ।

