भाइ तिम्रो सहादत प्रति गर्व छ

Avatar photo
Dhadingpost
जेष्ठ १, २०७८

हरेक वर्ष आउने जेठ १ गतेले हाम्रो परिवारमा एउटा अमिट पिडा र गर्वको अनुभुति गराउँछ । परिवारको प्रिय पात्र, समाज सुधारको एक सशक्त अभियन्ता,राष्ट्रिय क्रान्तिको एक वीर सिपाही,जनमुक्ति सेनाका एक कुशल कमाण्डर प्रिय भाइ अनिल अधिकारी/मिनबहादुर अधिकारी (क.प्रदुन) ले देश र जनताका निम्ति जीवन वलिदान गरेको दिन ।

१९ वर्षको कलिलो उमेरमै राष्ट्रियता,जनतन्त्र र जनजीविकाका निम्ति संचालित महान् जनयुद्धमा सहभागी भई जनमुक्ति सेनाको एक कमाण्डरको भुमिका निर्वाह गर्ने क्रममा २०५९ जेठ १ गते गुल्मी जिल्लाको घमिरमा तत्कालिन राज्यसत्ताद्धारा निर्ममतापूर्वक हत्या गरिएका प्रिय भाइ अनिल अधिकारीप्रति १९ औं स्मृति दिवसका अवसरमा उच्च सम्मानपूर्वक हार्दिक श्रदाञ्जली अर्पण गर्दछु ।

हामी भौतिकवादी हुनुका नाताले स्वर्गीय आत्माको कुनै स्वर्ग वा नर्गमा वासको विश्वास गर्दैनौं र कामना पनि गर्दैनौं बरु आम सर्वहारा, श्रमजीवि, मजदुर, किसानका निम्ति प्रेरणा र आस्थाका प्रतिकका रुपमा उत्पिडित वर्गका मनमस्तिष्कमा रहिरहून् भन्ने कामना गर्दछौं ।आज क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको विशाल आकाशमा कालो बादल मडारिइरहेको सन्दर्भमा देशी विदेशी प्रतिक्रियावादीहरु र केहि नव युवाहरुले नियतवश वा अज्ञानतावश जनयुद्धकालिन सहिदहरुका योगदानको अवमूल्यन गर्ने दुष्प्रयासहरु देखिएका छन् ।

जति वेला क.प्रदुनहरु भरुवा बन्दुक र ग्रिनेट बोकेर एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गर्दै नयाँ जनवादी गणतन्त्र स्थापनाको निम्ति वर्ग वैरीहरुसँग लड्दै थिए त्यतिवेला नेपालको अवस्था यस्तो थियो:

  • २०४७ को संविधान: २०४६ सालको जनआन्दोलनपछि तत्कालिन राजा,नेपाली काँग्रेस र वाममोर्चाको सहमतिमा तीनै पक्ष सम्मिलित संविधान सुझाव आयोगद्धारा सिफारिस संविधान तत्कालिन राजा विरेन्द्रद्धारा जारी गरिएको, जुन नेपाली जनता र राष्ट्रिय हित अनुकुल थिएन । तत्कालिन संयुक्त जनमोर्चा (पछि नेकपा माओवादी) ले संविधान जारी हुने वितिकै गलत छ भनी जलाएको थियो ।
  • संवैधानिक राजतन्त्र: (राजाका बारेमा कहिंकतै वोल्न, लेख्न पाईंदैनथ्यो, अदालतमा मुद्धा चल्दैनथ्यो, संविधानभन्दा राजा माथि थिए, राजाको मर्जी अनुसार मन्त्रिमण्डल हेरफेर हुन्थ्यो, राजपरिवारका सवै सदस्यहरुको सेवासुविधा राज्यले वहन गर्थ्यो, भगवान विष्णुको अवतारका रुपमा राजाको व्याख्या…लगायत), संविधान राजाबाट जारी गरिने ।
  • संसदीय व्यवस्था: प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित जनप्रतिनिधिमुलक संसदीय व्यवस्था कायम थियो जहाँ सबै वर्ग, जाती, क्षेत्र, लिङग, धर्म, सम्प्रदायको सहभागीता सुनिश्चितता थिएन । अस्थिरता, सांसद किनवेच, सुरासुन्दरी काण्डले दुगन्धित, प्राडो पजेरो, विलासिता र भ्रष्टाचारले ग्रसित फोहोरी संसदीय व्यवस्थाबाट जनता आक्रान्त थिए ।
  • शाही नेपाली सेना: (नेपाली सेना राजपरिवारको निजी सेनाको स्वरुपमा एकल जातीय वर्चश्वसहित माथिल्लो पदमा आसिन जनरलहरुका तहकीकातमा परिचालन हुने सेनाको रुपमा थियो )
  • हिन्दू राज्य: नेपाल एकल धर्म हिन्दू राज्यको रुपमा स्थापित थियो । अन्य धर्मावलम्वीहरुका चाडपर्व,रीतिरिवाजप्रति राज्यले विदा,सेवासुविधा उपलब्ध हुँदैनथ्यो ।
  • एकात्मक संरचना: सिंगो राज्य राजनीतिक रुपमा एकात्मक संरचना अन्तर्गत नारायणहिटी र सिंहदरवारबाट संचालित हुन्थ्यो । पहुँचवालाहरुको मात्र राज्य थियो । अन्य विभाजनहरु (५ विकास क्षेत्र,१४ अञ्चल र ७५ जिल्ला तथा गाउँविकास समिति र नगरपालिकाहरु) केवल प्रशासनिक इकाइका रुपमा मात्र सिमित थिए ।
  • एकल जातीय वर्चश्व: राज्यका सबै निकायहरु (जनप्रतिनिधि, सेना, प्रहरी, प्रशासन, अदालत, कर्मचारी आदि) मा व्राह्मण क्षेत्रीहरुको एकल जातीय वर्चश्व थियो । कहिं कतै समावेशीता, समानुपातिक प्रणाली थिएन । जसका कारण उत्पिडित जाती, वर्ग, क्षेत्र, लिङ्ग, धर्म, सम्प्रदायको राज्यका निकायहरुमा सहज सहचभागीता हुँदैनथ्यो ।
  • सामन्ती प्रणाली: गाउँ वस्तीहरुमा सामन्ती कुप्रथाले जरो गाडेको थियो । दलित, महिला र तल्लो जातीका मानिसहरुप्रति असाध्य निच व्यवहार गरिन्थ्यो । जातीय विभेद चरम थियो । केहि ठालु, सामन्तहरुको शोषण, दमनबाट ग्रामिण समाज आक्रान्त थियो । अड्डा अदालत पहुँचवालाहरुको पकडमा थियो । निमुखा सर्वसाधारणका लागि आँखाको फल आँखा तरी मर जस्तो थियो । सहज पहुँच थिएन । समाजमा कुरीति, कुसंस्कार र अन्धविश्वासले जरा गाडेको थियो ।
  • राजनीतिक चेतनाको कमी: राजनीति भनेको राजामहाराजा र सम्भ्रान्त अभिजात वर्गका मानिसहरुका पेवा हुन् । अरुले राजनीति गर्नु हुँदैन भन्ने आम मान्यता थियो । अझ तल्लो वर्ग, महिला,जनजाती, दलित, मधेसीहरुले त झन राजनीतिमा भागै लिनुहुन्न भन्ने मान्यता थियो ।
  • ग्रामिण कष्टकर जीवन: शिक्षा, स्वास्थ्य, संचार, यातायात, खानेपानी, विद्युत जस्ता आधारभुत आवश्यकताबाट ग्रामिण वस्तीहरु बन्चित थिए । रोजगारीका कुनै संभावना थिएन ।

यस्तो विकृत राजनीतिक प्रणालीको अन्त्यको लागि भन्दा पनि त्यसलाई नै मजबुत बनाउँदै पालैपालो लुटको स्वर्ग उपभोग गर्न संसदवादी दलहरु उद्धत थिए । उनीहरुमा सत्ता उन्मादको यति घमण्ड थियो कि कोही कसैको अस्थित्व समेत स्वीकार गर्दैनथे । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा (माओवादी) को नेतृत्वमा उपर्युक्त विशेषता भएको जर्जर सामन्ती राजतन्त्रको समुल नष्ट गरी आम श्रमजीवी किसान, मजदुरहरुको हित गर्ने जनवादी गणतन्त्र नेपाल स्थापना गर्ने उद्धेश्यसहित बन्दुकको बलमा टिकेको राज्य सत्ता ध्वस्त गर्न सशस्त्र जनयुद्धको शुरुवात भएको थियो ।

जनयुद्धको घोषणा हुनु अघि नेकपा (माओवादी) ले तत्कालिन प्रधानमन्त्री नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासमक्ष माओवादी नेता डा.बाबुराम भट्टराईद्धारा राष्ट्रियता,जनतन्त्र र जनजीविका समेटिएका ४० सूत्रीय माग पेश गरेको थियो जसमा संविधान सभामार्फत नयाँ संविधान निर्माणदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका मागहरु समेटिएको थियो । तर तत्कालिन राजा, नेपाली काँग्रेस, नेकपा (एमाले) लगायत कुनै पनि राजनितिक शक्तिहरुले माओवादीद्धारा प्रस्तुत मागहरु संवोधन गर्ने तत्परता देखाएनन् बरु दमन मार्फत माओवादी सिध्याउने कदमहरु अगाडी बढाए ।

१० वर्षसम्म तत्कालिन राज्यपक्षसंग भीषण सशस्त्र संघर्षमार्फत सामन्ती राज्य सत्ताका धेरै अवयवहरु ध्वस्त भए भने आम उत्पिडित वर्ग समुदायमा राजनीतिक चेत जागृत गरायो । हजारौं युवा युवतीहरु संघर्षमा लामवद्ध भए । सोही क्रममा झण्डै १० हजार होनहार सहिदहरुले जीवन आहुति दिए । तिनै सहिदका वीरतापूर्ण वलिदानले आज निम्न उपलब्धिहरु हासिल भएका छन् ।

  • संविधान सभाबाट संविधान जारी: तत्कालिन नेकपा (माओवादी)को प्रमुख माग संविधान सभाको निर्वाचन २०६४-२०७० सालमा सम्पन्न भइ नेपालको संविधान २०७२ जारी भएको छ जुन नेपाली जनताले पहिलो पटक आफ्नै जनप्रतिनिधिहरुबाट निर्मित समाजवाद उन्मुख संविधान हो । यद्यपी यसमा केही संशोधनीय पक्षहरु छन् । मोलिक हक लगायत परिवर्तनका उपलव्धिहरु संस्थागत गरिएको यो सामान्य उपलब्धि होइन । यो संविधान प्राप्तिका निम्ति सहादत प्राप्त गर्ने सहिदहरुका रगत कसरी खेर गए ?
  • लोकतान्त्रिक गणतन्त्र स्थापना: राजाविना देश कसरी चल्छ , कल्चरल किङ वा वेवि किङ भए पनि राजतन्त्र राख्नुपर्छ भन्ने नेपाली काँग्रेस,प्रतिगमन आधा सच्चियो भनेर राजाका पाउमा दाम चढाएर प्रधानमन्त्री बन्न निवेदन दिने अनि बयल गाडा चढेर अमेरिका पुगिँदैन भन्ने नेकपा (एमाले),कट्टर राजावादी राप्रपालाई गणतन्त्र स्वीकार गर्न लगाएर सर्वसाधारण नेपालीका छोराछोरी पनि राष्ट्र प्रमुख बन्न सक्ने लोकतान्त्रिक गणतन्त्र ल्याउन सहादत प्राप्त गर्ने सहिदका रगत कसरी खेर गए ?
  • समानुपातिक, समावेशिता: एकल जाती, एकल धर्म, एकल भाषा रहेको राज्यलाई जातीय, लिङ्गिय, क्षेत्रीय वा साम्प्रदायिक जनसंख्याका आधारमा राज्यका सवै अङ्गहरु (राजनीतिक प्रतिनिधित्व, सेना, प्रहरी, कर्मचारी आदि) मा समानुपातिक समावेशीता लागु गराउन सहादत प्राप्त गर्ने सहिदका रगत कसरी खेर गए ?
  • संघीयता: एकात्मक राज्य प्रणाली अन्तर्गत नारायणहिटी र सिंहदरवारबाट पहुँचवाला नेता,कर्मचारीहरुका तहकीकातमा संचालन हुने राजकीय सत्ता देशका ७ ओटै प्रदेश र ७५३ वटै स्थानीय तहमार्फत व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका सहितको अधिकार स्थापित गराउन (यद्यपी नेकपा माओवादी केन्द्रको सोच अनुरुप काम हुन सकेको छैन ) सहादत प्राप्त गर्ने सहिदका रगत कसरी खेर गए ?
  • धर्मनिरपेक्षता: एकल हिन्दू राज्यको रुपमा एक धर्म एक भाषाको संरक्षण गर्ने राज्यलाई सबै धर्म,भाषाभाषीका समुदायहरुका लागि समान नीति अंगिकार गर्ने तथा राज्यको आफ्नो कुनै विशेष धर्म नहुने धर्मनिरपेक्ष राज्य घोषित गर्नका निम्ति सहादत प्राप्त गर्ने सहिदका रगत कसरी खेर गए ?
  • आर्थिक/सामाजिक/साँस्कृतिक जागरण: सामन्ती उत्पादन सम्बन्ध तोडेर पुँजीवादी आर्थिक उत्पादन प्रणाली, समाजवादी उत्पादन प्रणाली, राजनीतिक सचेतता, विकास निर्माण, सूचनासंचार प्रविधि, साँस्कृतिक जागरण, सामाजिक सुरक्षा, स्वरोजगार जस्ता राज्यको अग्रगामी रुपान्तरणका निम्ति गाउँ, शहर, वस्तीहरुका जनतामा जागरण ल्याउन सहादत प्राप्त गर्ने सहिदका रगत कसरी खेर गए ?

आज तिनै सहिदका रगतमा टेकेर सत्ताको रसास्वादन गरिरहेका दल,नेताहरु र तिनका कार्यकर्ताहरुका मुखबाट महान सहिदहरुलाई अपमान गर्ने र सहिद परिवारहरुलाई विचलिन गराउने दुष्प्रयासहरु भइरहेका छन् । यो क्रान्तिका उपलब्धिहरु नष्ट गर्ने र फेरि आफ्नो लुटको स्वर्ग बचाइराख्ने प्रतिक्रियावादीहरुका सुनियोजित चालबाजी हुन् ।

हामीमा हाम्रा परिवारहरुले यो परिवर्तनका निम्ति वीरतापूर्वक गरेका वलिदानीप्रति कत्ति पनि हिनताबोध छैन । प्रतिक्रियावादीहरुका सामु हाम्रा सन्ततिहरुले जीवनको भीख मागेनन् त्यसैमा गर्व छ । कायर भएर क्रान्तिबाट भागेनन् त्यसैमा गर्व छ । प्रतिक्रियावादीहरुका सामु घुँडा टेकेर आत्मसमर्पण गरेनन् त्यसैमा गर्व छ । माओवादी आन्दोलन समाप्तै भए पनि हाम्रा इतिहासप्रति हामी गौरवान्वित छौं । शीर उच्च छ, छाती चौडा छ । यस्तो इतिहास निर्माण गर्ने सुयोग्य छोरा जन्माउनुहुने मेरी आमाप्रति सलाम छ ।

सहिद अनिल अधिकारी (क.प्रदुन) को परिवारजन बन्ने अवसर पाएकोमा हामी गौरवान्वित छौं । खबरदार सहिदका रगतमाथि हिलो छ्याप्ने धृष्टता कहिं कतैबाट नहोस । प्रिय भाइ महान वीर सहिद अनिल अधिकारी (क.प्रदुन) प्रति पुन हार्दिक श्रद्धासुमन !

(सहिद अनिल अधिकारीका दाजु, एकिकृत अखिल नेपाल शिक्षक संगठन वागमती प्रदेश अध्यक्ष )

२०७८/०२/०१