
बाबुराम श्रेष्ठ
धादिङ माघ २५ । ईलाका प्रहरी कार्यालय खानीखोलाले चालु आर्थिक वर्ष २०७७-०७८ को पौष मसान्त सम्म विभिन्न घटनामा सम्लग्न भइ पक्राउ परेका ६९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको बताएको छ ।
खानीखोला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक रुपा थापाका अनुसार विभिन्न ९ शिर्षकका घटनामा आबद्ध भएका ६९ जना र ४ जना अपराधीहरु भने फरार छन् ।
थापाका अनुसार जुवा तास अन्तर्गत ३ वटा घटनामा ३५ जना, अभद्र व्यवहार अन्तर्गत ४ वटा घटनामा ११ जना र चोरी अन्तर्गत ४ वटा घटनामा ६ जना रहेका छन् ।
यसैगरी सवारी ज्यान अन्तर्गत ४ वटा घटनामा ४ जना, जर्वजस्ती करणी उद्योग अन्तरगत ३ वटा घटनामा ४ जना, बहुविवाह अन्तर्गत २ वटा घटनामा ४ जना, बाल यौन दुराचार अन्तर्गत २ वटा घटनामा २ जना, जवरजस्ती करणी अन्तर्गत २ वटा घटनामा २ जना र बालविवाह अन्तर्गत १ वटा घटनामा १ जना यो चालु वर्षमा पक्राउ परेका थिए ।
यस्तै चोरी मुद्धाका १ जना, जुवातास मुद्दाका २ जना र बालबिबाह मुद्दाका १ जना फरार रहेका छन् । फरार भएका अपराधीहरुलाई खोजीकार्य भैरहेको समेत इलाका प्रहरी कार्यालय खानीखोलाले बताएको छ ।
