
काठमाडौं माघ १५ । कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्ध हाल ६४ वटा भ्याक्सिन मानवीय शरीरमाथिको क्लिनिकल परीक्षणमा छन् । तीन भ्याक्सिनले दुईभन्दा बढी देशमा प्रयोगका लागि अनुमति पाइसकेका छन् । यी भ्याक्सिन युरोप र अमेरिका देशहरूले आफ्ना नागरिकलाई (मास भ्याक्सिनेसन) लगाउन थालिसकेका छन् । त्यसबाहेक रुस र चीनमा बनेका केही भ्याक्सिनले देशभित्र आपतकालीन प्रयोगका लागि अनुमति पाएका छन् । न्युयोर्क टाइम्सले संकलन गरेको तथ्यअनुसार अरु २० भ्याक्सिन परीक्षणको अन्तिम चरणमा पुगेका छन् । कोरोना भाइरसविरुद्धको भ्याक्सिन कसरी बन्छन् ? विश्वभरको फरक वातावरण र जीवनशैलीका स्वस्थ मानिसले समेत प्रयोग गर्ने भ्याक्सिन कसरी बनिरहेका छन् ? कोरोना भाइरसविरुद्ध बनेका आठवटा भ्याक्सिनबारे केही जानकारी :
मेसेन्जर आरएनए भ्याक्सिन फाइजर
जर्मन कम्पनी बायोन्टेकले फाइजरसँग मिलेर निर्माण गरेको बिएन्टी१६२बि२ नामक कोभिडविरुद्धको भ्याक्सिन आरएनएमा आधारित भ्याक्सिन हो । जुन क्लिनिकल ट्रायल परीक्षणमा कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । सार्स कोभिडले प्रोटिनको माध्यमबाट मानव कोषमा प्रवेश गर्छ । उक्त स्पाइक प्रोटिनको आधारमा भ्याक्सिन र औषधि निर्माण गरिन थालिएको छ । भ्याक्सिनले मेसेन्जर आरएनएलाई जेनेटिक मेटेरियल प्रयोग गरेर कोषहरूमा प्रोटिन बनाउँछ, जसले भाइरसलाई कोषभित्र प्रवेश गर्नबाट रोक्ने गर्छ ।
मोडर्ना
स्पाइक प्रोटिनहरूले सम्भावित खोप र उपचारका लागि लक्ष्य निर्धारण गर्छन् । फाइजर खोपजस्तै मोडर्नाले पनि भाइरसको जिनमा आधारित रहेर स्पाइक प्रोटिन निर्माण गर्छ । भ्याक्सिनमा आरएनए अर्थात् आनुवंशिक सामग्री प्रयोग गर्छ, जसले कोषहरूमा रहेको प्रोटिनको मात्रा अध्ययन गर्छ । भ्याक्सिनमा प्रयोग गरिएको आरएनए भ्याक्सिनमार्फत सीधै शरीरमा पठाउँदा इन्जाइमका कारण टुक्रामा विभाजित हुन्छ । यसका लागि फाइजरले आरएनएलाई एक किसिमिको तेलीय पदार्थमा मिसाएर प्रयोगमा ल्याउनेछ ।
आरएनए मोलिक्युल कमजोर हुने भएकाले तापक्रम नमिल्दा भण्डार गर्न गाह्रो हुन्छ । शरीरमा इन्जेक्सन दिइसकेपछि खोपका कणहरू कोषसँग ठोक्किन्छन् र आरएनए बाहिर निस्कन्छ । कोषमा रहेका कणहरूले भाइरसको अवस्था अध्ययन गरी स्पाइक प्रोटिन निर्माण गर्छ । बिस्तारै खोपले दिएको आरएनए कोषहरू नष्ट गर्छन् । केही स्पाइक प्रोटिनहरू टुक्रिएर स्पाइक्स बनेर कोषको सतहमा गएर बस्छन्, यस्तै खोपबाट दिइएका आरएनएका अणुहरूसमेत कोषको सतहमा हुन्छन्, जुन पछि प्रतिरक्षा प्रणालीले पत्ता लगाउँछ ।
एडिनो भाइरसमा आधारित भ्याक्सिन अक्सफोर्ड एस्ट्राजेनेका
अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेका कम्पनीसँग मिलेर निर्माण गरेको एजेडडि१२२२ नामक भ्याक्सिन एडिनो भाइरसमा आधारित भ्याक्सिन हो । जुन परीक्षणको क्रममा ९० प्रतिशतभन्दा माथि प्रभावकारी देखिएको छ । यो भ्याक्सिन स्पाइक प्रोटिनमा आधारित भए पनि भाइरसको आरएनएमा नभई डिनएमा आधारित भ्याक्सिन हो । अन्वेषकहरूले भाइरसको स्पाइक प्रोटिन र जिनलाई अर्को भाइरसमा थपेर एडिनो भाइरस निर्माण गर्छन् । एडिनो भाइरस सामान्य भाइरस हो, जसले फ्लुजस्ता लक्षण देखाउँछ । एस्ट्राजेनेकाले चिम्पान्जीमा रहेको एडिनो भाइरसको आधारमा कोभिड भाइरसविरुद्धको खोप निर्माण गरेको छ ।
जोनसन एन्ड जोनसन
जोनसन एन्ड जोनसनले निर्माण गरेको एडी२६कोभ२एस नामक भ्याक्सिन यही जनवरीदेखि प्रयोगमा ल्याइने भएको छ । यो भ्याक्सिनमा एडिनो भाइरस २६ प्रयोग गरिएको छ । जोनसनले एडिनो भाइरसलाई परिमार्जन गरेर खोपमा राखेको छ, जुन कोषिकाभित्र प्रवेश गर्न सक्छ, तर कुनै किसिमको समस्या देखाउँदैन । एडिनो भाइरस वर्षौंदेखि अनुसन्धान गरेर भ्याक्सिनमा प्रयोग गरिन थालिएको हो, जुन योभन्दा अगाडि इबोलाविरुद्धको भ्याक्सिनमा प्रयोगमा आइसकेको छ । जोनसनले एचआइभी र जिका भाइरसविरुद्धको भ्याक्सिनमा पनि एडिनो भाइरस प्रयोग गरिरहेको बताएको छ ।
प्रोटिनमा आधारित भ्याक्सिन नोभाभ्याक्स
नोभाभ्याक्स भ्याक्सिन प्रोटिनमा आधारित भ्याक्सिन हो, जसलाई एनभिएक्स कोभ २३७३ नाम दिइएको छ । अमेरिकामा उत्पादन गरिएको यो भ्याक्सिनले परीक्षणको सुरुवातमै शरीरमा कोभिडविरुद्ध प्रशस्त एन्टिबडी उत्पादन गरेको बताइएको छ । भ्याक्सिन भाइरसको स्पाइक जिनको अध्ययन गरेर निर्माण गरिएको हो । भ्याक्सिनमा प्रयोग गरिएका ननपार्टिकलहरूले भाइरसलाई कोषमा प्रवेश गर्न दिँदैन, फलस्वरूप भाइरसका आरएनएहरू बिस्तारै नष्ट हुँदै जान्छन् ।
निष्क्रिय भाइरसमा आधारित भ्याक्सिन
हाल बनिरहेका अधिकांश भ्याक्सिन निष्क्रिय भाइरसको प्रयोग गरेर उत्पादन भइरहेका छन् । सामान्यतः खोपको माध्यमबाट शरीरमा निष्क्रिय भ्याक्सिन प्रयोग गरेर शरीरको प्रतिरोधी क्षमतालाई सक्रिय पार्ने काम गर्छ ।
सिनोभ्याक
चाइनिज निजी कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोनाभ्याक नामक औषधि निष्क्रिय भाइरसमा आधारित भ्याक्सिन हो । जुन क्लिनिकल परीक्षणको समयमा ९१ प्रतिशत प्रभावकारी देखिएको छ । यो भ्याक्सिन निर्माण गर्ने क्रममा चीन, बेलायत, इटली, स्पेन र स्विट्जरल्यान्डमा कोरोना भाइरसको नमुना संकलन गरी बनाइएको थियो । भ्याक्सिनमा निष्क्रिय भाइरस राखिएको छ, जसले शरीरमा रहेको प्राकृतिक प्रतिरोधीलाई बढाउने हुँदा प्रतिरोधीले कोभिड भाइरसविरुद्ध लड्ने काम गर्छ ।
सिनोफर्म
सन् २०२० को सुरुवातमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्सले बिबिआइबिपी कोर भी नामक कोभिडविरुद्धको भ्याक्सिन निर्माण गरेको थियो । अन्वेषकहरूले कोरोना भाइरसको ठूलो स्टक उत्पादन गरेर बिटाप्रोपीओक्टनद नामक रसायनसँग मिसाएर प्रतिक्रिया तयार गरेका थिए । तिनीहरूले भाइरसको जिनसँग सम्बन्ध राखेर भाइरसलाई निष्क्रिय गर्न मद्दत गर्छन् । सुरुवातमा कोरोना भाइरस फैलिनबाट अक्षम भए पनि तिनीहरूको स्पाइक प्रोटिन कोषको सतहमा रहिरहन्छन् । अनुसन्धानकर्ताहरूले त्यसपछि निष्क्रिय भाइरसहरू आल्मुनियम सम्बन्धित कम्पाउन्डहरू मिसाएर राखिएको थियो । जसले शरीरमा रहेको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउने हुँदा शरीरमा भाइरसहरू प्रवेश गर्नबाट रोक्न सकिन्छ । सामान्यतः भाइरसविरुद्धका खोप निर्माण गर्दा सोही निष्क्रिय भाइरस प्रयोगमा ल्याइन्छ ।
भारत बायोटेक
भारतले निर्माण गरेको यो भ्याक्सिन क्लिनिकल परीक्षणको क्रममै रहे पनि भारत सरकारले प्रयोगका लागि अनुमति दिइसकेको छ, जुन निष्क्रिय भाइरसमा आधारित छ । निर्माणको क्रममा अन्वेषकहरूले कोरोना भाइरसको ठूलो स्टक उत्पादन गरे, जसलाई बिटा प्रोपिओक्टेलोन भन्ने रसायनसँग मिलाए । यसले जिनसँग सम्बन्ध राखेर भाइरसलाई निष्क्रिय पार्ने काम गर्छ । बिस्तारै भाइरसले शरीरमा थप आरएनए उत्पादन गर्न सक्दैन र फलस्वरूप शरीरमा भाइरसको प्रभुत्व घट्दै जान्छ । नयाँ पत्रिकाबाट

