
समयको परिवर्तन संगै मानिसहरु नयाँ नयाँ कामको खोजि गर्ने गर्दछन । पराम्परागत व्यवसायलाई आधुनिकीकरण गरेर थोरै समयमा धेरै आम्दानी गर्ने मनसायले मानिसहरु नयाँ जोस जाँगरका साथ बिभिन्न पेशाहरुमा आकर्षित हुने गरेको पाईन्छ ।
विभिन्न पेशा मध्य नेपालमा हाल कुखुरापालन व्यवसाय प्रति मानिसहरु आकर्षित बनेको देखिन्छ । वैदेशिक रोजगारबाट फर्केका युवा युवती लगायत स्वदेशमा रहेका धेरै व्यक्तीहरु अहिले कुखुरापालन व्यवसायमा लागी परेका छन् । झट्ट हेर्दा कुखुरापालन व्यवसाय सजिलो र आकर्षक देखिए पनि व्यवहारमा भने कुखुरा पालक किसानहरु सन्तुष्ट हुन सकेका देखिदैन ।
कुखुरा पालक किसानहरुले महिनौ मेहनत गरेर कुखुरापालन गर्छन तर उत्पादित कुखुराको मुल्यनिर्धारण भने उनिहरुले गर्न पाउदैनन जस्को कारण धेरैजसो किसानहरु घाटाको व्यापार गर्न वाध्य छन । कुखुराको चल्ला उत्पादन गर्ने ह्याचरीले चल्लाको मुल्य तोक्छ, दाना उत्पादन गर्ने दानाफिडले दानाको मुल्य तोक्छ, कोल्डस्टोरले उत्पादित कुखुराको मासुको मुल्य तोकेको हुन्छ तर कुखुरा उत्पादन गर्ने किसानले उत्पादित कुखुराको मुल्य तोक्न पाउदैनन ।
जसको कारण किसान सधै मारमा परेका हुन्छन् । विभिन्न संघ र संस्थाको नाममा किसान र ग्राहक बीचको दुरी बढाएर बीचमा चलखेल गर्ने बिचौलियाहरु मालामाल हुदै गर्दा उता मेहनत गर्ने किसान बेहाल भैसकेको हुन्छन त्यहाँ सम्बन्धित निकायको ध्यान पुगेको हुँदैन ।
चल्ला, दाना, औषधी लगायतका सामानहरु खरिद गर्दा जताततै किसान लुटिन्छन । चल्लाको मुल्यमा ह्याचरीको मनलाग्दी दरभाउ हुन्छ । दानाको बोरामा मुल्य निर्धारण नहुदा मनलाग्दी रुपमा दानाको किनबेच हुन्छ । कोल्डस्टोर वालाले किसानले उत्पादन गरेको कुखुराको कुनै मुल्याङ्कन गर्दैन ।
किसानले मेहनत नै नगरी बजारबाट टिपेर ल्याएको सामान जस्तो तुच्छ व्यवहार गर्दा किसानले कुखुरापालन गरेकामा पनि हिनता बोध गर्न वाध्य हुन्छन । यसरी कुखुरा पालक किसानहरु सँधै बिचौलियाको चंगुलमा फसिरहदा राज्य र सम्बन्धित निकाय भने बेखवर जस्तै बसिरहेको हुन्छ ।
तत्कालिन अवस्थालाई मध्यनजर गर्ने हो भने कोभिड १९ को कारण किसानहरु ठुलो मारमा परेका छन् । सात महिना लामो लकडाउन र निषेधाज्ञाको कारण बिभिन्न क्षेत्रमा परेको असर जस्तै कुखुरापालनको क्षेत्रमा पनि ठुलो असर परेको कसै सामु लुकेको छैन ।
बिचौलियाको कारण माथि उठन नसकेका किसानलाई कोभिड १९ ले झनै ठुलो दशा थपिदिएको छ । एकातर्फ निश्चित समयमा कुखुरा बिक्रि नहुनु र महंगो दाना बढि खपत गर्न वाध्य हुनु अर्कोतर्फ बल्लतल्ल बिक्री भएको कुखुरा पनि सस्तो मुल्यमा बेच्न पर्दा कुखुरा पालक किसानले पिडा माथि पिडा खेप्न वाध्य छन् ।
यसरी झट्ट हेर्दा राज्यले किसानको हितमा योजना ल्याउन नसके अबको केही वर्षमा नेपालमा कृषि क्षेत्रमा काम गर्ने मानिसको खडेरी लाग्न सक्छ त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
राज्यले कृषि तथा पशुपंक्षी पालन गर्ने किसानको लागी नयाँ नयाँ योजनाहरु ल्याईरहेको हुन्छ तर त्यो योजनाहरु किसान सम्म नपुग्दै बीचैमा हराएको हुन्छ । विभिन्न बैंकहरुले दिने सहुलियत कर्जा, राज्यले दिने अनुदान, विभिन्न किसिमका तालिमहरु कहाँ र कहिले शुरु हुन्छ भन्ने सम्म पनि किसानले थाहा नपाउदै बीचैमा सक्किसकेको हुन्छ । नेपाल सरकारको मातहतमा रहेर फार्म दर्ता गरेर व्यवसाय सञ्चालन गरेका किसानहरुले सम्म राज्यको सेवा सुबिधाको बारेमा थाहा पाउन सकेका हुदैनन ।
राज्यले उत्पादनको क्षेत्रमा लागेका सक्कली किसान को हुन ? नेपाल भर त्यस्ता किसान कति छन् अहिले सम्म कुनै तथ्यांक राखेको देखिदैन । पैसा र शक्तिको आडमा नक्कली किसानले राज्यको सेवा सुबिधाहरु उपभोग गरिरहदा सक्कली किसान भने निराश हुदै आफ्नै दैनिकीमा अहोरात्र खटिरहेका हुन्छन तर पनि राज्य र सम्बन्धित निकायले चासो दिन सक्दैन । कृषिप्रधान देश नेपालमा किसानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन नसक्दा धेरै किसानहरुले कृषि पेशाबाट हात धुनुपर्ने वाध्यता छ ।
नेपाल सरकारको आशालाग्दो योजनालाई सहि ठाँउमा सदुपयोग गर्न नसक्दा राज्यले परिकल्पना गरेको योजनाहरु असफल हुुने निश्चित छ । चाहे कुखुरा, बाख्रा पालन गर्ने किसान हुन चाहे तरकारी फलफुल उत्पादन गर्ने किसान हुन् राज्यले सक्कली किसान छनोट गरेर उत्पादन मुलक काममा लागेका किसानलाई प्रोत्साहन गर्न जरुरी छ । भनाईमा एउटा र गराईमा अर्को हुने हो भने राज्यको योजनाहरु बिफल हुन्छ र विकासको नाममा विनाश हुने निश्चित छ ।
हाल कृषिक्षेत्रमा भईरहेको विचौलिया प्रथाको अन्त्य नभए सम्म राज्य संचालकहरुले भनेको कृषि क्रान्ति असम्भव छ । जवसम्म किसानाको उत्पादन सिधा उपभोक्ता सम्म पुग्ने माध्यम राज्यले बनाउन सक्दैन तवसम्म राज्य संचालकहरुको योजना भाषणमा मात्रै सिमित रहने छ ।
घुसखोरी र कमिसन खाने कर्मचारीलाई राज्यले कार्वाही गर्ने, असल कर्मचारीलाई पुरस्कार सहित प्रोत्साहन गर्ने, किसानको लागी राज्यले दिने सेवा सुबिधा सक्कली किसानलाई मात्रै दिने, किसान मुखी नीति नियम बनाएर किसानले उत्पादन गरेको सामान सहि मुल्यांकण गरेर बिक्रि वितरणको लागी बजार व्यवस्थापन गर्ने, स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिने, किसानको लागी आवस्यक सामग्री, मल, विऊ लगायतको सुपथ मुल्य पसलहरु राज्यद्धारा सञ्चालन गर्ने लगायत यावत कुराहरुमा राज्य लागी पर्ने हो भने कृषि क्षेत्र फस्टाउन सक्छ नत्र राज्यको योजना एक वर्षको वजेट लगाएर खाल्टो खन्ने र अर्को वर्षको वजेटले खाल्टो पुर्ने अन्तमा विकासको परिणाम के भन्दा शून्य भने झै हुनेछ ।
कृषिप्रधान देश नेपालमा किसानलाई सम्मान गरौं विदेशी उत्पादनलाई परास्त गरेर स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्ने प्रण गरौं । शुभ दिपावली नेपाल संवत तथा छठ पर्वको सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।
