धादिङ अस्पतालको लापर्वाहीले दुई एम्बुलेन्स थन्कियो

Avatar photo
Dhadingpost
साउन ४, २०७७

धादिङ साउन ४ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल प्रशासनको लापर्वाहीले अस्पतालको दुईवटा एम्बुलेन्स थन्किएको छ ।

भारत सरकारबाट सहयोग प्राप्त बा १ झ ८०१८ नम्बरको एम्बुलेन्स ०७३ सालमा चल्दा चल्दैको अवस्था थन्याईएको थियो । अहिले महत्वपूर्ण सामाग्री चोरी भएको अवस्थामा अस्पताल परिसरमा भेटिन्छ । उक्त एम्बुलेन्स अस्पतालले प्रदेश सरकार सँग समन्वय गरि कवाडीमा बेच्ने तयारी गरेको छ ।

यस्तै हिमालयन हेल्थ कियर नेपालबाट जिल्ला अस्पतालले सहयोग प्राप्त गरेको बा २ झ २२७७ नम्बरको एम्बुलेन्स लकडाउन कै बेला बैशाख १७ गते नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिर नजिक कै दुर्घटना भयो ।

दुर्घटना स्थल पुगेका प्रतक्ष्यदर्शी एक स्थानीयका अनुसार उक्त एम्बुलेन्स चालकले नचलाएर उनको आफन्त सिक्ने क्रमम दुर्घटना भएको थियो । भनसुनका आधारमा कागज पत्र चालकले नै चलाउँदा दुर्घटना भएको बनाएर इन्सुरेन्समा भुक्तानिका लागि दावी गरे पनि इन्सुरेन्स कम्पनीले पनि भुक्तानी दिन आनाकानी गरि गरेको अस्पताल स्रोतले बतायो ।

अहिले उक्त एम्बुलेन्स मर्मतको लागि काठमाडौ लगिए पनि ग्यारेजमा नै थन्किएर बसेको अवस्थामा छ । जिल्ला अस्पतालमा अहिले आपतकालिन अवस्थाका विरामीहरु जिल्लाबाहिर लैजानु पर्यो भने २५ किलो मिटर भन्दा टाढाबाट एम्बुलेन्स मगाउनु पर्ने अवस्था छ ।

अस्पतालको चरम लापर्वाहीका कारण एउटा चल्दा चल्दै कवाडी बनाउने र अर्को सिकारुलाई सिक्न दिएर दुर्घटना गराउने कार्यले अहिले जिल्ला अस्पताल एम्बुलेन्स विहिन बनेको छ ।

अस्पतालका अध्यक्ष धमलाले एम्बुलेन्स मर्मत भैसकेको छ, लिन बोलाएको थियो पानी परेको कारण लिन जान समस्या भैरहेको हामीलाई बताए । तत् पश्चात हामी एम्बुलेन्स मर्मतको लागि राखिएको काठमाडौ सितापाईलाको ग्यारेजमा पुग्यौं । अध्यक्ष धमलाको कुरा र एम्बुलेन्सको अवस्था मेल खाने अवस्था देखिएन । एम्बुलेन्सको काम अझै ५० प्रतिशद बाँकी रहेको ग्यारेजका मिस्त्रीले हामीलाई बताए ।

जिल्ला अस्पताल आएका एम्बुलेन्सलाई पनि अस्पतालको अध्यक्ष महेन्द्र धमला बने सँगै अस्पताल परिसरमा पार्किङ गर्न नदिने निर्णय गरे । अस्पतालको एम्बुलेन्स मात्र अस्पताल हातामा रहने धमलाको उक्त निर्णयलाई एम्बुलेन्स चालक संघले चर्को आलोचना गदै आएका छन् ।