कोरोनाको संक्रमण रोक्न बालबालिका घरमै सुरक्षित

Avatar photo
Dhadingpost
चैत्र ८, २०७६

काठमाडौं चैत्र ८ । बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो ।

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्णविकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान पुर्‍याउनुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताए । उनले अहिले सबै विद्यालय बन्द भइसकेका कारण बालबालिकालाई घरमा सुरक्षित कसरी राख्ने भन्ने विषयमा ध्यान पुर्‍याउनुपर्ने जानकारी दिँदै भने, कोरोनाको त्रास र भ्रम फैलाउनु हुँदैन । बालबालिकालाई कोरोनाको त्रास दिएमा मानसिक समस्या आउँछ ।

उनले बालबालिकालाई नेपालमा कोरोना आएको छैन तर सुरक्षा भने अपनाउनुपर्छ यो रोग लाग्दैमा मर्ने होइन जस्ता कुरा सम्झाउनुपर्ने जानकारी दिए । अभिभावकहरू आतङ्कित नहुन सुझाव दिँदै उनले थपे, बालबालिकाको मृत्युदर निकै कम छ, सही सूचना प्रवाह गर्नुपर्छ । खानपिनमा ध्यान दिनुपर्छ सकभर बाहिरको खुवाउनुु हुँदैन ।

पोषणविद् डा। अरुणा उप्रेती अभिभावकलाई आतङ्कित नहुन सुझाव दिन्छन् । जटिलता छैन तर सुरक्षा अपनाउनुपर्ने उनले बताए । बालबालिकालाई साबुनपानीले हात धुनुपर्छ भन्ने सिकाउनुको साथै नाक, मुखमा हात लैजान नहुने ज्ञान दिनुपर्छ ।

मौसम परिवर्तनका कारण सामान्य रुघा, खोकी लाग्न सक्ने भएकाले पोषिलो खानेकुरा खानुपर्छ भने बालबालिकालाई क्वाँटीको झोल अथवा मनतातोपानी वा दूध बेसार र कालो मरिच मिसाएर दिनुपर्छ भन्दै उनी थप्छन्, यस्ता खाने कुरा रोगसँग लड्ने क्षमता बढाउनका लागि हो ।

रोगसँग लड्ने क्षमता विकासले रोग लाग्न नदिने हो । त्यसलै रुघा, खोकीबाट बच्नुपर्छ जसले निमोनिया हुन दिँदैन । अहिले झाडा, पखाला लाग्ने पनि मौसम भएकाले हात धुने बानीले यस प्रकारको रोगबाट बच्च सहयोग गर्ने डा. उप्रेतीले जानाकारी दिए।

डा। पाण्डेले बाहिर काम गरेर आएपछि मास्क, बाहिरी कपडा, जुत्ता, झोला सकभर घरबाहिर वा छुट्टै कोठामा राख्न सुझाव दिँदै रुघाखोकी लागेमा अलग्गै कोठामा सुत्नुपर्ने बताए ।

बालबालिकालाई सामान्य रुघाखोकी लाग्दैमा अस्पताल वा क्लिनिक लैजान जरुरी छैन भन्दै उहाँले त्यहाँ हुने भीडभाडले बालबालिकामा सङ्क्रामक रोग सर्ने डर हुने प्रष्ट पारे । घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभए भीडभाड नहुने गरी जांँच गराउने व्यवस्था गर्नुपर्छ ।

बालबालिकालाई चम्चाले खाना खाने अभ्यास गराउनुपर्छ, बालबालिकालाई छुँदा, खुवाउँदा, खेलाउँदा, कपडा फेर्दा साबुनपानीले राम्रोसंँग हात धुनुपर्ने बताए । सुरक्षाका लागि बा९लबालिकालाई इन्फ्लुएन्जा तथा निमोनियाको खोप लगाउनुपर्ने डा. पाण्डेले सुझाव दिए ।

सन्तुलित खानाका लागि हरियो सागसब्जी, फलफूल, दूध, घ्यू, दही, दाल, गेडागुडी, बदाम, काजु, गेडागुडीको रस दैनिक खुवाउने व्यवस्था गर्नुपर्छ ।

लसुन, बेसार, गुर्जो, अदुवा आदिले कोरोनालाई सन्चो गर्ने हैन रोगसँग लड्ने क्षमता बढाउने हो डा. पाण्डेले भने, गोमूत्र सेवनले भाइरस मर्दैन अरू अरू सङ्क्रमण हुन सक्छ । आत्तिएर जे पायो त्यही खान गर्नु हुँदैन ।

बालबालिकालाई कोरोनाको सङ्क्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन सही जानकारी तथा उपाय अवलम्बन गर्न जरुरी छ । यो रोगको कुनै खोप तथा औषधि नभएकाले घातक मानिएको हो तर सङ्क्रमण भएका एक सय जनामा जम्मा दुई तीन जनाको मृत्यु हुन्छ । मृत्युदर धेरै उमेर भएका व्यक्तिमा उच्च देखिएको छ । सङ्क्रमित बालबालिकामा मृत्युदर एक हजारमा एक जनामा पनि छैन अर्थात ०।१५ भन्दा थोरैमा रहेको डा। पाण्डेले जानकारी दिए।

प्राध्यापक तथा बालमनोविज्ञ निर्मला उप्रेतीले बालबालिकाको अहिले भएको बिदाको समयमा धेरै कुरा सिकाउन सकिने जानकारी दिए । कोरोनाको त्रासमा परिरहेको बालबालिकालाई घरभित्रको काममा रमाउने वातावरण बनाउनुपर्ने बताए ।

यस्तै खानेपानी, टेलिफोन, बिजुली, इन्टरनेटको बिल तिर्न सिकाउने तथा सरसफाइ गर्ने तरिका सिकाउन सकिन्छ । यस्तै घरबारी वा बगैँचामा फूलबिरुवा रोप्न लगाउनु सिकाउनुपर्छ । यसले आम९ाबुवाले र बालबालिकाको माया प्रगाढ हुने उप्रेतीले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

x