कोरोनाभाइरसः भारतले औषधिको निर्यातमा नियन्त्रण गर्ने

Avatar photo
Dhadingpost
फाल्गुन २२, २०७६

फागुन २२ । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेलामा भारतले कैयौँ औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ ।

जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि अभाव हुने त्रास बढेको छ ।

अहिलेसम्म चीनबाहेक ८० वटा देशमा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परिसकेका छन् । एशियाबाहेक युरोप, अमेरिका र अफ्रिकाम पनि सङ्क्रमण फैलिएको छ ।

नब्बे हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण र झन्डै ३,२०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भारतले नियन्त्रण गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ । यो औषधि शरीरको दुखाइ कम गर्न विश्वभरि सबभन्दा धेरै प्रयोग गरिने औषधि हो ।

भारतको यो घोषणा औषधिको कच्चा पदार्थ उत्पादन गर्ने चिनियाँ कम्पनीहरू बन्द भइएको वा सीमित क्षमतामा सञ्चालित भएको बेला आएको हो ।

भारतका औषधि निर्माताहरू ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन् । औषधि उद्योगका विज्ञहरूले प्रकोप जारी रहे तिनले अभाव झेल्नुपर्ने चेतावनी दिइसकेका थिए बीबीसीले समाचार प्रकाशित गरेको छ ।