बेनिघाट रोराङमा सरसफाई रणनैतिक योजना कार्यशाला सुरु

Avatar photo
Dhadingpost
माघ १७, २०७६

उद्धव चेपाङ
धादिङ माघ १७ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ३ मालिङ्गामा गाउँपालिका स्तरिय पूर्ण सरसफाई रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी सुरु भएको छ ।

बेनिघाट रोराङ गाउँपालिकाको आयोजना र शान्ति नेपालको प्राविधिक सहयोगमा गाउँपालिका स्तरिय पूर्ण सरसफाई रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठीको शुक्रबार सुरु भएको हो ।

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीको अध्यक्षतामा भएको गोष्ठीमा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नेपालले राष्ट्रिय अभिभारा पुरा गर्ने काममा गाउँपालिका लागेको खुशी व्यक्त गर्दै धादिङ जिल्लालार्ई सन् २०२३ सम्ममा सफा र स्वच्छ जिल्ला र २०२५ सम्ममा पूर्ण सरसफाई उन्मुख जिल्ला घोषणा गर्ने लक्ष्य रहेको बताएका थिए ।

“समृद्ध बेनिघाट रोराङ हाम्रो पहिचान, स्वास्थ्य स्वच्छता र विकासका लागि पूर्ण सरसफाई अभियान” भन्ने मुल नाराका साथ शुरु भएको गोष्ठीमा शनिबार सम्म चल्ने छ । शान्ति नेपालका कार्यकारी निर्देशक डा. कृष्णमान शाक्य र कार्यक्रम निर्देशक पि. आर शर्माले विषय वस्तुमाथि सहजिकरण गरेका थिए ।

कार्यक्रममा वेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवि प्रसाद सिल्वाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भटराई , वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु र विभिन्न संघ संस्थाका कर्मचारी तथा प्रतिनिधि गरी ५५ जनाको सहभागिता रहेको छ ।