पाठेघर सम्बन्धी स्वास्थ शिविर सम्पन्न

Avatar photo
Dhadingpost
मंसिर २८, २०७६

धादिङ मंसिर २८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ मा महिलाको पाठेघर सम्बन्धी स्वास्थ शिविर सम्पन्न भएको छ ।

ग्रामिण क्षेत्रका महिलाहरुले पाठेघर खस्ने समस्या लाजका कारण उपचार नगराई सास्ती व्यहोरि रहेको अवस्थामा भएको यस शिविरमा २०० भन्दा बढी महिलाहरुले सेवा लिएका थिए ।

बिशेषज्ञ डाक्टर सहितको टोलिले बेनिघाट रोराङ ५ स्थित स्वास्थ्य चौकीमा पाठेघर सम्बन्धी स्वास्थ शिविर चलाएका थिए ।

महिला मानव अधिकार रक्षक संजाल र बेनिघाट रोराङ गाउँपालिकाको संयुक्त आयोजनमा भएको यस शिविरलाई ग्रीन सिटि अस्पताल, लायन्स क्लब अफ म्याग्दी, परिवर्तनको लागि महिला मंच र टुकि नेपालले सहयोगमा सहयोग गरेका थिए ।

पाठेघर खस्ने समस्या
सामान्य भाषामा महिलाको बच्चा बस्ने घर योनीबाट तल झर्नुुलाई पाठेघर खस्नु वा आङ खस्नु भनिन्छ । अर्थात् पाठेघरलाई यथास्थानमा राख्ने तन्तुहरू खुकुलो भएर तल झर्नु नै पाठेघर खस्नु हो । यस्तो समस्या खासगरी पहिलो बच्चा पाएका, जन्मान्तर नराखी धेरै बच्चा जन्माएका र कतिपय अवस्थामा अविवाहित महिलामा पनि हुन सक्छ ।

समस्या कति जटिल ?

पाठेघर खस्नु आफैँमा जटिल समस्या होइन । तर, पाठेघरसँगै अगाडिबाट मूत्रथैली, पछाडिबाट मलाशय र माथिबाट आन्द्रा तल सरेर आउनु भने जटिल समस्या हो । यस्तो तीन चरणमा हुन्छ । प्रायः पाठेघर झरेर योनीबाट बाहिर आइसकेपछि मात्र महिलाहरू स्वास्थ्य संस्थामा आउने भएकाले संक्रमण हुने सम्भावना बढी हुन्छ ।

पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहन्छ । पाठेघर खस्दाको पहिलो र दोस्रो चरणसम्म त्यति गाह्रो हुँदैन । तर, जब बिस्तारै बाहिर निस्किन थाल्छ, तिघ्रासँग घर्षण हुँदा संक्रमण हुने सम्भावना उच्च रहन्छ । समयमै उपचार भएन र सरसफाइको अभाव भयो भने कालान्तरमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना अधिक हुन्छ ।

कारण

पाठेघर खस्नुको मुख्य कारण पाठेघरलाई जोडेर राख्ने तन्तुहरू कमजोर हुनु हो । आङ खस्ने विभिन्न कारण हुन्छन् । कम उमेरमा विवाह गर्नु, जन्मान्तर नराखी धेरै बच्चा जन्माउनु, बल प्रयोग गरेर साल निकाल्नु, सुत्केरी अवस्थामा भारी काम गर्नु, धूम्रपान गरेर पटक–पटक खोक्नु र कुपोषणका कारण पाठेघर खस्ने समस्या हुन्छ ।

नेपालका ग्रामीण भेगतिर पाठेघर खस्नुलाई समस्याका रूपमा नलिई यसलाई बच्चा भएपछि हुने साधारण अवस्था मान्ने गरिएको छ । जसले गर्दा समस्या झनै बल्झिने गरेको छ । यो शारीरिक मात्र नभई महिलाभित्र लुकेको मानसिक र सामाजिक समस्या पनि हो ।

लक्षण

पाठेघर खसेका महिलामा विभिन्न समस्या देखापर्छन्  । सुरु–सुरुमा योनीमा केही निस्केर बसेको जस्तो महसुस हुन्छ । बिस्तारै पिसाब फेर्न गाह्रो हुने, खोकी लाग्दा, हिँड्दा, पेटमा बल पर्दा पिसाब चुहिने तथा ढाड दुख्नेजस्ता लक्षण देखिन्छन्  । त्यस्तै, योनीबाट सेतो पानी बग्ने, बसेर काम गर्न असहज हुनेजस्ता लक्षण पाठेघर खस्नुअघिका लक्षण हुन् ।

उपचार

आङ खसेका महिलाको उपचार बिरामीको अवस्था हेरेर विभिन्न तरिकाबाट गर्न सकिन्छ । जसमा व्यायाम, रिङ पेसरी र शल्यक्रिया मुख्य हुन् । यदि पाठेघर अलिकति मात्र तल खसेको छ, अर्थात् चिकित्सकीय भाषामा पहिलो चरणमै छ भने सामान्य व्यायाम गराएर पनि उपचार गराउन सकिन्छ ।

गुप्तांगमा रिङ पेसरी राखेर झरेको पाठेघरलाई भित्रै अड्काएर राख्ने विधिलाई रिङ पेसरी भनिन्छ । यो प्रयोग गरेको प्रत्येक तीन महिनामा फेर्नुपर्ने हुन्छ ।

महिलाको पाठेघर गुप्तांगबाट बाहिरै निस्केको भए शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । शल्यक्रियाबाट कसैको पाठेघर पुरानै अवस्थामा फर्काउन सकिन्छ भने कतिपयमा अवस्था हेरेर पाठेघर निकालेर समेत उपचार गर्नुपर्ने हुन्छ ।