
धादिङ असोज १८ । यौन दूराचारको आरोप लागे पछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउको लागि तयारी गरेको छ ।
स्रोतका अनुसार पीडित महिला रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिए पछि प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको हो ।
प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ ।
यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेको समेत बताएका थिए । उच्च प्रहरी स्रोतले भन्यो, रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार उजुरी दिएर गएका छन् । बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ ।
उच्च प्रहरी स्रोतले भन्यो- आइतबार अदालतबाट पक्राउ पुर्जी लिने हाम्रो तयारी छ । पीडितको जाहेरी आइसकेकाले पक्राउ गरेरै अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ।’’

