
के निन्द्रा पर्थ्यो खै ?
३९३१६ रुपैयाँ तिर्नुछ !
सरर हुइकिन पर्यो भनेर नयाँ गाडी किनेछन,
बस्न कुर्सी नि नयाँ ल्याए ।
आहा कम्ती मज्जा आउदैन ।
हेलिकप्टरबाट हिउँ नै हिउँको पहाड नियाल्न
नेपालको गर्भमा बगेको नदि खोला चिहाउन ।
फूल माला अविरमा सजिएर
देव समान हुँदै जयजयकार गाउदैमा ।
जनप्रतिनिधिलाई खाजा र पानी खुवाउदैमा ।
त्यत्ती नि तिर्न नसकुला त
मलाई त यहाँ छट्पटी छ !
३९३१६ रुपैया तिर्नु छ ।
नाङ्गो बस्न मिलेन बरु
त्यही पुरानो कोट भए पनि लाउथे म ।
नयाँ कोट किनेछन फेरि
मलाई ऋण नबोकाएको भए ।
कसरी फेरिन्थ्यो चिटिक्क फिटिङ्स कोट ?
ठिकै छ,
मलाई यहाँ
भतभती मुटु पोलेको छ
३९३१६ रुपैया तिर्नु छ ।
रुच्नु त के नै थियो र बाच्नु छ यहाँ !
खुसी हुनु पर्ने त के देखियो र यहाँ !
भकाभक खसी र रागा नढलेको भए
बिकासकै नाममा
घ्याम्पोको लोकल नरित्तिएको भए ।
भागबन्डामा आधा बजेट नसिद्दिएको भए ।
मलाई किन पिर पर्थ्यो र ?
३९३१६ रुपैया तिर्नुछ !
घोर्ले खसी खोजेकै होलान
महङ्गो गर गहना रोजेकै होलान ।
स्वदेशी उत्पादन नभएर के भो !
रेमिटेन्स पठाउने हात त हुन स्वदेशी ।
चाहे जस्तो महल, सोचेजस्तो जीवन ।
आखिर नयाँ नेपालका नेता स्वदेशी ।
तै पनि मन चिसो हुन्छ , छट्पटी हुन्छ
आखिर यो देश कै खातिर
३९३१६ रुपैयाँ तिर्नुछ ।
घरमा तरकारी मसला छैन ।
देश बनाउछु भन्छ सरकार !
समाजमा फलेका बुद्धिजीवीहरु
यहि बेला ओढ्नु पर्यो खोल
खानु पर्यो कमिसन, धान्नु पर्यो परिवार ।
छाउनु पर्यो छानाहरु भर्नुपर्यो मानाहरु ।
बालुवामा पानी झै ढुकुटीका दानाहरु ।
झस्किन्छ ,च्वास्स घोच्च मन ।
मैले के नै गरे र ३९३१६ तिर्नुछ ?

