
डाक्टरको कोठाबाट थोरै ओठ खुलाउँदै, आँखामा खुसिका सिताराहरु चम्काउदैँ, हातले मेरो रिपोर्ट हल्लाउँदै, मेरो नजिक आइरनु भएका मेरा मान्छे साबिक हामी अस्पताल भित्रिएको बेलाको भन्दा तेब्बर खुसी देखिनु हुन्थ्यो ।
केहि बेर अघि गोठको भैँसिलाई पानी दिँदै गर्दा मलाई रिगट्टाले ढलायो, खै एक्कै छिनमा निक्कै मान्छेहरुको गुन/गुन कानले सुनिरहेका थिए । तिनिहरुलाई आँखाले देखेनन्, आँसुका हुलहरु निकालेर आँखा रोइरहदा पनि मुखले कुनै प्रतिक्रिया देखाएका थिएनन् । आमाले पिडिबाट, मलाई देख्नु भयो क्यारे, आमाले नै उहालाई बोलाइ दिनु भएछ ।
हिजो बेल्काको खाना पनि पेटमा बसेको थिएन । पेटसम्म पुग्ने बित्तिकै पुनः मुखले नै माथि तिर तान्यो ति खानाहरुलाई, फेरि निल्न तेति मन लागेन । लागेको थियो, दिउँसो खाएको अमिलोहरुले पो केहि असर गर्यो कि पेटलाइ ? पिरो अमिलो निक्कै मन पर्न थालेको थियो, सोच्दै पनि मुखाभरी पानी आउँने भएको थियो ।
ऎनामा आफुलाई नै कलिलो भए जस्तो देख्न थालेको थिएँ । गालाहरु राता राता हुन पनि थालेका थिए । पेटमा पनि केहि हदको परिबर्तन देखिन थालेको थियो । म आफुले आफुलाई अलि बढी स्याहार पनि गर्ने भएकी थिएँ ।
बिहान अचनक रिंगटाले ढलेर अस्पताल सम्म पुगेपछि थाहा भयो मेरो र मेरो मान्छेको बिचमा एक अर्को मान्छे थपिदै छ ।खुसिको सबै भन्दा ठुलो कारण थपिदै छ, म आफुलाइ र मेरा मान्छेलाई भगवानको स्थानमा पुराउने वालामा छु । एउटा सानो मान्छेलाईमेरो काखको ठुलो संसारमा लेराउने वालामा छु, मेरो अमृत रुप दुध चुसाउने वलामा छु । सानो कोखमा खुसिको ठुलो पोकालाई अटाउने वालामा छु । सबै भन्दा ठुलो कुरा त मेरो एउटा खुसिलाई अर्को खुसिले दोब्बर खुसी बनाउने वालामा छु ।
मुस्काउँदै मन राजाले, तिन जना भएर घर जानु पर्छ भन्दा लाजले भुत्तुक्कै भए, लाग्यो उहाँ नचिनेको मान्छे हो अनि नचिनेको मान्छे म सङ केहि त्यस्ता कुरा गर्दै हुनु हुन्छ जुन कुरामा म नलजाई बस्नै सक्दिन ।
हाँस्दै उठे अनि हामी दुबै घर तिर फर्कियौ । आमाले जाने बित्तिकै आँगन सम्म मेरो पाखुरा समाउन आउनु भयो, मैले हाँस्दै भने आमा केहि भाको छैन समाउनु पर्दैन । उहाँले हाँस्दै फेरि आमालाई भन्नुभयो हजुरको सानो काले आउने वालामा छ, मोतिलाई राम्रो ख्याल राख्नुस्, अर्को म हेर्ने भए, आमाले हाँस्दै तैले जान्या छस् कुरा भन्दै उहालाई ठट्यौली गाली गर्नु भयो ।
साँझ पर्नै लागेकाले म खाना पकाउने तरखरमा लागे, आमाले गाली गर्दै म बनाउछु बस भन्न लाग्नु भयो, मैले हैन आमा म आफै बनाउँछु बरु भन्नुस् आज हजुरको रोजाइमा बनाउछु के बनाउ ? आमाले हैन आज प्रेमको रोजाइको बनाउ प्रेमलाई मन पर्नी भन्दै मलाई जिस्काउनु भयो ।
म हाँसेर बसे गोठको काम बुबाले गर्नु भएछ, उहाँ रुखाको घाँस काटेर सिधैँ भान्सामा पस्नु भयो । आज चिप्ली भिडी र आलु भुट्छु है ? भन्दै बारिबाट भर्खर टिपेर लेराएको चिप्ली भिडी देखाए । हाँस्दै तिम्रो पेटमा भाकोलाई मन पर्छ रे भन्नुभयो ? मैले निधार खुम्चाएर आँखा ठुलो बनाउदै रिसाए जस्तो गरेर हेरे… उहाँ हाँस्दै मलाई सघाउन थाल्नु भयो ।
हामी दुई भएर खाना बनायौ, आमालाई र बुबालाई लगेर पानी दिए, भाइ पनि आइपुग्नु भयो खाना खान भाईलाई पनि बोलाए, बहिनी पनि खाना खान बस्नु भयो । आमाले उहाँलाई जिस्काउँदै भन्नु भयो, प्रेम आज तैले पनि बनाको भएर हो कि कसो खाना निक्कै मिठो छ नि । उहाँले हाँस्दै म तिर हेर्नु भयो र भन्नु भयो, आज सानो प्रेमले पनि त बनाको छ खाना, म भुइँतिर हेरेरै हाँसिरहेँ ।
बेलुका सुत्ने बेलामा मनमा अनेक कुरा खेल्न थाले, यति धेरै खुसी मैले उहालाई आमालाई कहिले देखेको थिइन । अब म भन्दा प्यारो भएर यस घरमा आउने, माया गर्ने मान्छेहरुको दुनियाँमा आउने, मेरो कोखबाट काखमा आउने मान्छे साँच्चै कति भाग्या मानी होला । कति प्यारो होला त्यो मान्छे जस्लाई मलाई भन्दा बढी माया गर्नुहुनेछ उहाँले, जस्लाई मलाई भन्दा बढी मायाँ गर्नु हुनेछ आमाले ।
भोलि त बिहानै उठेर ममिलाई फोन गर्नु पर्यो । ममिपनि कति खुसी हुनुहुन्छ होला । बुबाको आँखा पनि खुसिले रसाउँछ होला, भाई पनि त मामा बन्ने भएको छ । मामा मलाई यो चाहियो उ चाहियो भनेर खुब सताउने भान्जा भान्जी पाउने भएपछि सानु पनि खुब खुसी होला । पोहोर देखि भान्जा भन्जिलाई खाना खुवाउनु पर्छ भनेर चोखै राखेको काजका थाल गिलास पनि अब त चोखो नरहने भयो ।
आमाले नानी उठ्ने बेला भएन, बिहानको ८ बजि सक्यो बिहे गरेर अर्काको घर गएसी कसरी गरि खाली ? भनेर कराए पछि झल्यास्स भएँ । म उठ्दा न उठ्दै आमा मेरो कोठा मै आउनु भयो । यत्र तत्र छरीको लुगाहरु मिलाउँदै रात भर मोबाईलमा गफ गरेर बसेको होला ? तेरो निको चाल छैन है ? तेरो उमेरमा हामीले ८ बजे सम्म त एक भारी घाँस ल्याई सक्थ्यौं छिटो उठ भन्दै जानु भयो । म आफुलाई भने त्यो सपनामा देखिएको दृष्यले कस्तो कस्तो लागि रह्यो ।

