
धादिङ बैशाख ३१ । धादिङ नीलकण्ठ नगरपालिका स्थित खाल्टेमा बाख्रालाई हुने महामारीजन्य रोग पिपिआर विरुद्धको खोप दिइएको छ ।
व्यवसायीक बाख्रा पालनमा उत्साहित बनेका नीलकण्ठ नगरपालिका साविकको खाल्टे ३, ४, ५ का बिभिन्न टोल वस्तीहरुमा रोगको सम्भावित जोखिमबाट जोगाउनका बाख्रालाई निःशुल्क पिपिआर (बाख्रामा लाग्ने हैजा) विरुद्ध खोप दिइएको हो ।
घुम्ती शिविर संचालन गरि १ हजार भन्दा बढी बाख्रालाई पहिलो चरण पीपीआर विद्धको खोप लगाईएकाे पशु सेवा प्राविधिक सुवास खतिवडाले धादिङपोष्टलाई बताए । खतिवडाका अनुसार नीलकण्ठ नगरपालिका भरि १५ हजार बाख्रालाई पीपीआर विरुद्धको खोप लागाईने छ ।
पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगतमासी छेर्ने, रगत छेर्ने लगायतका लक्षण देखिन्छ । यो लक्षण देखिएकोे एक सातामै बाख्राको मृत्यु हुने गरेको छ ।

पिपिआर (बाख्रामा लाग्ने हैजा)
लक्षणः
१. १०४–१०६ डिग्री फरेनहाईट सम्म ज्वरो आउने ।
२. जिग्रिङ पर्ने, थुतुनो सुख्खा हुने, आँखा रातो हुने, खाना नखाने ।
३. नाकबाट पानी आउने, पीप बगाउने ।
४. नाकभित्र घाउ हुने, मुखभित्र रातो भई ओठ, जिव्रो र मुखभित्र जताततै खटिरा निस्कने ।
४. कालो छेर्ने, जलवियोजन हुने ।
रोकथाम र उपचारः
रोगको लक्षण देखा परिसकेपछि खास उपचार गर्न सकिदैन, त्यसैले लक्षण अनुसार उपचार गर्नुपर्छ । रोकथामको निम्ति २/२ वर्षको अवधिमा खोप लगाउनु जरुरी हुन्छ ।

