बर्डफ्लूबाट जोगिने उपायहरू

Avatar photo
Dhadingpost
बैशाख १९, २०७६

धादिङ बैशाख १९ ।  नेपालमा पक्षीबाट सर्ने रुघा जस्तो एकप्रकारको रोग, बर्ड फ्लुबाट पहिलो पटक एक २१ वर्षीय किशोरको मृत्यु भए सँगै सजग रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आव्हान गरेको छ ।

साधारण फ्लु भाइरसले संसारमा प्रत्येक वर्ष सङ्क्रमित मध्ये करिब १० प्रतिशत मानिसको ज्यान लिन्छ जसमा पाँच वर्षभन्दा कम उमेरका बालबालिका र वृद्ध बढी हुन्छन् ।

बर्ड फ्लुको भाइरस चराचुरुङ्गीबाट मानवमा विरलै सर्छ, मानवबाट मानवमा सर्ने सम्भावना झनै कम हुन्छ। तर सरेको अवस्थामा घातक हुनसक्छ ।

सङ्क्रमित मान्छेमा कस्ता लक्षण देखिन्छ

चिकित्सकहरूका अनुसार मानिसलाई अरू फ्लु लाग्दा देखिने लक्षणजस्तै यसका लक्षण पनि हुन्छन्। सङ्क्रमण भएपछि देखिने लक्षणहरू निम्न प्रकारका छन ।

खोकी लाग्छ, ज्वरो आउँछ
टाउको दुख्छ, जाडो लाग्छ
हाछ्युँ आउँछ
मांसपेशीमा पीडा हुन्छ
नाकबाट पानी बग्छ वा नाक थुनिन्छ
लक्षणहरू अचानक पनि देखिन सक्छन् । सामान्यतया भाइरसको सम्पर्कमा आएको तीनदेखि पाँच दिनमा लक्षणहरू देखिने चिकित्सकहरू बताउँछन् ।

कसरी बच्न सकिन्छ ?

खासगरी पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् । तर त्यसको अर्थ मासु, अण्डा एवम् पशुपक्षीजन्य उत्पादन उपभोग गर्नेहरूले ख्याल गर्नुपर्दैन भन्ने होइन ।

निम्न कुराहरूमा ध्यान दिनुपर्दछ

कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन
काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ
दीक्षित भन्छन्स् “राम्ररी पकाएको खान कुनै डर हुन्न । पकाउने मान्छेले सकेसम्म काँचो मासु र अन्डा नाङ्गो हातले छुनुहुन्न । मासु काटेको ठाउँ र काट्ने सामग्री राम्रोसँग साबुन पानीले धुनुपर्छ ।”

चिकित्सकहरूका अनुसार निम्न कुरामा ध्यान दिन सके बर्ड फ्लूबाट बच्न सकिन्छ

पोल्ट्री फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ
खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउनुपर्छ
काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेर मात्रै जानुपर्छ
चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्नुपर्छ
व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्नु हुँदैन
बर्ड फ्लु नदेखिएका ठाउँबाट मात्रै पशुपक्षी तथा तिनका उत्पादन आयात गर्नुपर्छ
फर्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्नुपर्छ
मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिनुपर्छ, राम्रोसँग तिनको व्यवस्थापन गर्नुपर्छ
फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गराउनुपर्छ
सङ्क्रमित कुखुराको मासु बजारमा आउन नदिनेतर्फ ध्यान दिनुपर्छ