
धादिङबेसी भाद्र ११ । धादिङबेसीमा हाँस्यव्यंग्य, ख्यालठट्टा, लाखे नाँच र टाकटुके नाँच सहित मृतात्माको शान्तिको कामना गर्दै गाईजात्रा मनाईएको छ ।
सोमबार साँझ ४ बजे धादिङबेसी बीचबजार देखि सुरुभएको गाईजात्रा बजार क्षेत्र परिक्रममा गरेको थियो । गाईजात्रामा नीलकण्ठ नगर पालिकालाई स्मार्ट सिटी र फ्रिवाईफाई र कर सँग जोडेर व्यंग्य प्रस्तुत गरिएको थियो ।
तात्कालिन माओवादी केन्द्रका उम्मेदवार तथा उप मेयर मनराज भण्डारीले चुनावी घोषणा पत्रमै फ्रि वाईफाई र लोडसेङि मुक्तको नारालाई मुख्य एजेण्डा बनाएका थिए भने मेयर भिम ढुङ्गानाले स्मार्ट सिटिको कुरा गरेका थिए ।

यहि बिषयलाई व्याङ्ग्य प्रस्तुत गरिएको थियो । गाइजात्रामा पेट फुलेको र पेटमा स्मार्ट सिटी लेखिएको व्यानर र टाउकोमा स्मार्ट सिटीको टावर वनाएर नारायण कुमार श्रेष्ठले व्यंग्य गरेका थिए । उनलाई सहयोग गर्दै मोडल जस्तो देखिने हातमा क्यामरा बोकेर हरिकुमार श्रेष्ठ स्मार्ट सिटीका सल्लाहकारको रुपमा देखिएका थिए भने श्याम कुमार श्रेष्ठले स्मार्ट सिटीका लागी सिटी बजाउँदै कर दिन आग्रह गरेका थिए भने किरण कुमार श्रेष्ठ कर माननीयको रुपमा प्रस्तुत हुँदै कर उठाउँदै हिडेका थिए ।

भरपुर व्यंग्यात्मक बनेको गाई जात्रामा झेगुः नेवा समाज धादिङका कलाकारहरुले टाकटुके नाँच र लाखे नाँच देखाएका थिए ।
गाइजात्रा नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व मानिन्छ । गाईजात्रामा वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर गाउँ टोल र बजार परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
किंवदन्ती अनुसार राजा प्रताप मल्लको छोराको मृत्यु पश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन शुरु भएको मानिन्छ । यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्य व्यंग्य, ख्याल ठट्टा समेत प्रदर्शन गर्न राजाले आदेश दिए बमोजिम गाईजात्राको अवसरमा हास्य व्यंग्य समेत प्रदर्शन गरिन्छ ।
