धादिङ, साउन ३१ । साउन (श्रावण) को शुक्लपक्षको पञ्चमी नागपञ्चमीका नामले परिचित छ । यो दिन प्रत्येकले आफू बस्ने घरको ढोकामा नागको चित्र टाँसेर पूजा गर्छन् । आखिर किन टाँसिन्छ त ढोकामा नागको चित्र ?
प्रत्येक गृहस्थाश्रमीले आफ्नो गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुवो, धानको लाबा आदि पदार्थहरू चढाई गन्ध, पुष्पादिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि पुराणमा उल्लेख छ ।
यसरी विधिपूर्वक नागको पूजा आराधना गर्नाले नागहरू प्रसन्न हुने र वर्षभरि सर्प, बिच्छी आदि विषालु जीवहरूको भय हुँदैन भन्ने मान्यता छ । हिजोआज हिन्दू धर्मावलम्बीहरूले आ–आफ्नो घरको मूलद्वारमा नागको चित्र टाँसेर पूजा गर्ने चलन छ । मूलढोकाको दुवैतिरतिर गोबरको नाग बनाएर विधिविधानसँग पूजा गर्ने परम्परा कालान्तरमा परिवर्तन भई ढोकामा चित्र टाँस्ने चलनमा परिवर्तन भएको हो ।
प्रकृतिप्रति पनि सचेत
यो दिनलाई नाग वा सर्पप्रति मात्र नभई अन्य जीव वा प्रकृतिसँग आत्मीयता दर्शाउने दिनको रूपमा समेत लिइन्छ। आकाशबाट खस्ने चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपुर्याओस् भन्ने हेतुले बज्रवारकहरूको पूजा गरिन्छ ।
वेदमा सर्पको वर्णन
वैदिक ग्रन्थहरूमा स्वर्गका ज्योतिर्मय स्थानमा रहेका नदेखिने सर्प, सूर्यको किरणमा रहने सर्प, जलमा रहने एवं देखिने रूपमा वृक्ष आदिमा रहने सर्प र पृथ्वी, अन्तरिक्ष एवं द्युलोकमा रहने सर्पहरूको वन्दना गरिएको छ ।
पुराणमा नाग
पौराणिक ग्रन्थहरूमा पनि सर्पको महिमा प्रशस्त गाइएको छ । एकातिर भगवान् शिवको गहनाको रूपमा सर्पको महत्त्व छ । अर्कोतिर भगवान विष्णु शेषनागलाई शय्या बनाएर सुतेका छन् । श्रीमद्भागवतमा विष्णुकै रूपमा शेषनागको वर्णन गरिएको छ। शिवपुराणमा वासुकी नाग शिवको कण्ठमा बेरिएर रहेको वर्णन छ ।
मानिस र सर्पबीचको सम्बन्ध
प्राचीन ग्रन्थहरूमा मानिस र नागजातिबीच रक्तसम्बन्ध कायम थियो भन्ने उल्लेख पनि पुराणमा पाइन्छ। देवमाता अदीतिकी बहिनी कद्रुले नागवंशी कन्या उत्पत्ति गरेकी थिइन् । नागवंशी कन्याहरूको विवाह कश्यप ऋषिसँग भएको पुराणमा उल्लेख छ । यसैगरी भगवान् कृष्णको साथै अर्जुनले नागकन्यासँग विवाह गरेको प्रसंग महाभारतमा आउँछ ।
अर्जुनका पनाति जनमेजयसँग नागराजाले मैत्रीसम्बन्ध स्थापना गरेको आदि सन्दर्भले नागजाति र मानिसबीचको सम्बन्ध पुरानो भएको प्रसंग पाइन्छन् । पछिल्लो समयमा पनि भारतका विभिन्न भागमा नागवंशी राजाहरूले राज्य गरेको इतिहासमा पाउन सकिन्छ। तिनका सन्तानहरू अझै पनि भारत र नेपालका विभिन्न भागमा रहेका बताइन्छ । नेपालका केही जातिले पनि आफूलाई नागजाति बताउने गर्दछन् ।
हिन्दू समाजमा नागपञ्चमीको दिनलाई नागपूजा गरेर मानिस र सर्पजातिबीच रहेको भयलाई हटाउँदै आत्मीय सम्बन्ध स्थापना गर्ने दिनको रूपमा लिइन्छ । यसैगरी प्राचीन संस्कृति र इतिहासलाई अध्ययन अनुसन्धान गरेर सर्प र मानिसबीचको दूरी हटाउन यो दिनको ठूलो महत्त्व छ ।
