काठमाडौ, साउन १४ । १३ वर्षदेखि कलेजो पीडित श्रीमानलाई बचाउन श्रीमतीले आफ्नै कलेजो दिएकी छिन् ।
बुढानिकण्ठ ११ का बद्री खड्कालाई बचाउन उनकी श्रीमती रुसा खड्काले आफ्नो कलेजो दिएकी हुन् । नर्भिक र केएमसी अस्पतालमा श्रीमानको उपचार गराइरहेकी रुसाले त्यहाँका डाक्टरले कलेजो प्रत्यारोपणबिना नबाँच्ने बताएपछि उनी भक्तपुरस्थित मानवअङ्ग प्रत्यारोपण केन्द्रमा पुगिन् । त्यहाँ स्वास्थ्य परीक्षण गर्दा उनको कजेजो श्रीमानलाई मेल खायो । केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलगायतका डाक्टरसँगको परामर्शपछि उनी श्रीमानलाई आफ्नै अङ्ग दिएर भए पनि बचाउने निष्कर्षमा पुगिन् । १० असारमा उनको कलेजो श्रीमानमा सफल प्रत्यारोपण गरियो । उनको ४५ प्रतिशत कलेजोे श्रीमानमा प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।
चिकित्सा विज्ञानमा मानव अंग प्रत्यारोपणभन्दा पनि त्यसपछि उत्पन्न हुनसक्ने संक्रमण कम गर्नु झनै ठूलो चुनौतीपूर्ढा मानिन्छ । अंग लिने र दिनेमा कुनै किसिमको संक्रमण भए प्रत्यारोपणपछि पनि उक्त अंगले काम नगर्ने अवस्था आउँछ । तर उनले श्रीमानलाई बचाउन जस्तोसुकै रिक्स लिन तयार भइन् र श्रीमानलाई नयाँजीवन दिइन् । मार्सलआर्टका खेलाडी समेत रहेका खड्काले श्रीमतीको कारण आफूले नयाँजीवन पाएकोमा खुशी व्यक्त गरे ।

