काठमाडौं, साउन १० । प्रधानन्यायाधीशमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीका विषयमा आज संसदीय सुनुवाई हुँदैछ । जोशीलाई दिउँसो १ बजे सुनुवाईका लागि बोलाइएको छ ।
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित जोशीलाई आज बोलाएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध समितिमा पाँच उजुरी परेको छ । अधिकांश उजुरी फैसला तथा आदेशसँग सम्बन्धित छन् । एक उजुरीकर्ताले सरकारी तथा गुठीको जग्गा व्यक्तिका नाममा आदेश गर्ने इजलासमा समेत संलग्न भएकाले महाभियोग लाग्नुपर्ने व्यक्तिलाई प्रधानन्यायाधीश नबनाउन माग गरेका छन् ।
जोशी विरुद्ध परेका उजुरीका विषयमा छानविन पछि समितिले आज बोलाएको हो । जोशीलाई दिउँसो १ बजे सुनुवाईका लागि बोलाइएको छ । २० वटा लिखित प्रश्न बनाइएका छन् । लिखित बाहेकका विषयमा पनि सदस्यहरूले प्रश्न सोध्न पाउनेछन् ।
धेरै प्रश्न जोशीले गरेको आदेशबारे बनेका छन् । दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादसम्बन्धी आदेश, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग जोडिएका विषय प्रश्न बनेका छन् ।
