हिलोसहितको धमिलो वर्षाले महामारी फैलिने खतरा

Avatar photo
Dhadingpost
असार ३, २०७५

काठमाडौं, असार ३ । केही दिनयता काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा धमिलो वर्षा भएको छ । ‘यस्तो पानीले मानिसलाई एलर्जीको समस्या हुन सक्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको राजस्थान आसपास मरुभूमिमा केही दिनदेखि चलिरहेको हावाहुरीको असरले नेपालमा धमिलो वर्षा भएको हो ।

धमिलो वर्षामा धुलोका कणसहित विषाक्त रासायनिक पदार्थसमेत हुन सक्ने भन्दै यसको प्रयोग नगर्न शाखाले सुझाव दिएको छ। ‘भारतको राजस्थान औद्योगिक क्षेत्र भएकाले पानीमा धुलोसँगै विषाक्त रासायनिक पदार्थ मिसिएको हुनसक्छ। त्यसैले यस्तो पानी प्रयोग नगर्दा राम्रो हुन्छ,’ नगरकोटीले भनिन्। कतिपय ठाउँमा वर्षाको पानी संकलन गरेर पशुपक्षीलाई खुवाउने तथा सरसफाइमा प्रयोग गरिँदै आएको छ।

‘यस्तो पानीले मानिसलाई एलर्जीको समस्या हुन सक्छ। पशुपक्षीलाई पनि नखुवाउँदा राम्रो हुन्छ,’ मौसमविद् मीनकुमार अर्यालले भने। आकाशबाट परेको धमिलो पानीमा क्षारीय र अम्लीय पदार्थ पर्याप्त हुने भएकाले यसले असर गर्ने उनको भनाइ छ ।

रेड रेन भनिने यस्तो वर्षा पर्याप्त मात्रामा मरुभूमिको धुलो हुन्छ। पश्चिम र दक्षिण मेडिट्रेनियनमा धमिलो वर्षा भइरहन्छ भने उत्तर अमेरिकाको एरिड मरुभूमि क्षेत्रको टेक्सास र एरिजोना क्षेत्रमा पनि हुने गर्छ । यस्तो वर्षामा कार्बनलगायत मानव स्वास्थ्यमा असर गर्ने रासायनिक पदार्थ पर्याप्त हुन्छन् ।

भारतको राजस्थानमा केहिदिन अघि चलेको हावाहुरीका कारण धूलोको कण सँगै संक्रमित रोगका किटाणुहरु पानीको माध्यमबाट नेपाल आउन सक्ने सम्भावना भएकाले जथाभावि पानीको प्रयोग नगर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा।शेरबहादुर पुनले जथाभावी पानीको प्रयोग गर्दा संक्रमण हुन सक्ने भन्दै यो पानी प्रयोग नर्गन सुझाव दिएका छन् । उनले भने,‘राजस्थान र भारतकै अन्य क्षेत्रबाट आएको धुलोको कणमा रोगका किटाणुहरु पानीको माध्यमले आउने हुँदा त्यस्तो पानीको प्रयोगले झाडापखाला र छाला सम्बन्धि रोगहरु लाग्न सक्छ ।’

डा।पुनले विशेषगरी वर्षाको पानी जम्मा गरेर प्रयोग गर्नेहरुलाई यसले बढी प्रभावित पार्ने भन्दै कुनैपनि सागसब्जी र तरकारी राम्रो सँग नपखाली र पानी शुद्ध नगरी पिउन नहुने सुझाव दिए । उनले भने,‘हिलाम्मे धमिलो पानीमा कुन प्रकारका किटाणुहरु मिसिएका छन् भन्ने थाहा हुँदैन त्यसकारण पानीको परीक्षण पश्चात मात्रै यसले निम्त्याउने रोगबारे स्पष्ट हुन सकिन्छ ।’ उनले थपे, ‘एक त वर्षाको पानी त्यसमा पनि धमिलो पानी, यसैपनि प्रयोग गर्नु खतरनाक हुन्छ, तसर्थ सकेसम्म यो पानी प्रयोग नगर्नु नै उचित हुन्छ ।’

पूर्वानुमान शाखाका अनुसार मनसुनका बेला नेपालमा यस्तो किसिमको वर्षा भएको छैन। जाडो मौसममा नेपालको वायुमण्डलमा धुलो हुने भए पनि त्यतिबेला वर्षा नहुने भएकाले मौसम धुम्म हुने मौसमविद् नगरकोटी बताउँछिन्।‘मनसुनका बेला यस्तो पानी परेको रेकर्ड हामीसँग छैन, हिउँदमा नेपालको वायुमण्डलमा पनि धुलो प्रवेश गर्छ। यसपटक राजस्थानमा चलेको धुलोको हुरीको प्रभाव मनसुनमा प्रवेश गरेकाले धमिलो वर्षा भएको हो,’ उनले भनिन् ।