बम आक्रमणमा १३ जनाको मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७५

एजेन्सी, जेठ २९ । अफगानिस्तानको राजधानी काबुलमा सोमबार गरिएको आत्मघाती बम आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा सोमबार गरिएको आत्मघाती बम आक्रमणमा घाइतेको स्थानीय अस्पतालमा उपचार गरिँदै । अधिकारीहरूका अनुसार राजधानी काबुलको पश्चिममा पर्ने ग्रामीण पुनस्र्थापना र विकास मन्त्रालयको प्रवेशद्वारमा गरिएको विस्फोटमा आक्रमणकारी र अन्य १२ जनाको मृत्यु भएको हो । मृतकमध्ये अधिकांश महिला तथा बालबालिका छन् । आन्तरिक मामला मन्त्रालयका प्रवक्ता नाजिव डानिसका अनुसार आक्रमणमा ३० जना घाइते भएका छन् ।आक्रमणको कुनै पनि समूहले जिम्मेवारी नलिएको डानिसले बताए ।

‘पीडितहरू महिला, बालबालिक तथा पुनस्र्थापना मन्त्रालयका केही कर्मचारी छन्,’ उनले भने । गत शनिबार अफगान तालिवानले अप्रत्याशित रूपमा इदका अवसरमा तीनदिने युद्धविरामको घोषणा गरेका थिए । यद्यपि उनीहरूको युद्धविराम कहिले अन्त्य हुने भन्नेबारे केही बताइएको छैन ।एक साताअघि मोटरसाइकलमा आएका एक व्यक्तिले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको थियो । त्यसैगरि गत अप्रिलमा काबुलमा गरिएको विस्फोटमा २६ जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा ९ जना पत्रकार थिए ।