
धादिङ । धादिङमा रहेको एडभान्स एकेडेमीका प्री–प्राइमरी तहका नानीबाबुलाई हरियो रङको पहिचान तथा यसको विशेषताबारे व्यवहारिक सिकाइ कार्यक्रम सञ्चालन गरिएको छ ।
सानै उमेरका बालबालिकालाई विभिन्न रङको पहिचान गराउँदै दैनिक जीवनमा देखिने वस्तुहरूसँग रङलाई जोडेर सिकाउने उद्देश्यले विद्यालयमा हरियो रङसम्बन्धी कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नानीबाबुलाई हरियो रङ के हो, कहाँ–कहाँ देखिन्छ र हरियो रङ भएका वस्तुहरू कुन–कुन हुन् भन्ने विषयमा सहज र रमाइलो तरिकाले जानकारी गराइएको थियो ।
बालबालिकालाई पात, घाँस, रूख, विभिन्न तरकारी तथा फलफूललगायत दैनिक जीवनमा देखिने हरियो रङका वस्तुहरू प्रत्यक्ष उदाहरणसहित चिनाइएको थियो। यस क्रममा नानीबाबुले हरियो रङका वस्तुहरू पहिचान गर्दै आफ्ना वरिपरिका वस्तुको अवलोकनसमेत गरेका थिए ।
खेल, गतिविधि र प्रत्यक्ष उदाहरणमार्फत गराइएको सिकाइले बालबालिकालाई विषयवस्तु सहज रूपमा बुझ्न र लामो समयसम्म सम्झन सहयोग गर्ने विद्यालयको विश्वास छ ।
यस्ता अनुभवमा आधारित गतिविधिले बालबालिकामा रङ पहिचान गर्ने ज्ञानको विकास गर्नुका साथै वस्तुहरूलाई पहिचान, वर्गीकरण र अवलोकन गर्ने क्षमता विकास गर्नसमेत सहयोग पुर्याउने विद्यालयले जनाएको छ ।
बालबालिकाको प्रारम्भिक सिकाइलाई रमाइलो, सिर्जनात्मक र व्यवहारिक बनाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले नानीबाबुमा उत्साह थप्नुका साथै आफ्नो वरिपरिको वातावरणमा देखिने वस्तु र तिनको रङबीचको सम्बन्ध बुझ्न सहयोग गरेको छ ।
एडभान्स एकेडेमीले प्रारम्भिक तहका बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन व्यवहारिक, अनुभवमूलक तथा सिर्जनात्मक गतिविधिलाई प्राथमिकता दिँदै विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
