
धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाका पर्यटन व्यवसायी प्रकाश थपलियाले ठमेल पर्यटन विकास परिषद्को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
विगत १३ वर्षदेखि काठमाडौंको ठमेल क्षेत्रमा रही बुद्ध होम नेपाल प्रालि मार्फत पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका थपलियाले परिषद्को ३०औँ र ३१औँ साधारणसभा तथा निर्वाचनअन्तर्गत आगामी असार २७ गते हुने निर्वाचनमा प्रश्रयराज भण्डारी नेतृत्वको समावेशी समूहबाट सचिव पदका लागि उम्मेदवारी दिएका हुन् ।
पर्यटन क्षेत्रमा लामो अनुभव बटुलेका थपलिया परिषद्को नेतृत्वमा नयाँ अनुहार भने होइनन् । यसअघि उनी सदस्य पदमा निर्विरोध निर्वाचित भएका थिए भने त्यसपछि कोषाध्यक्ष पदमा लोकप्रिय मतसहित निर्वाचित हुँदै लगातार दुई कार्यकाल परिषद्को कार्यसमितिमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् ।
कार्यसमितिमा रहँदा व्यवसायीका समस्या समाधान, संस्थागत विकास तथा परिषद्को गतिविधिलाई प्रभावकारी बनाउन उनले खेलेको भूमिकाको व्यवसायीहरूले सकारात्मक मूल्यांकन गरेका छन् । यही कारण यसपटकको निर्वाचनमा सचिव पदका बलिया दाबेदारका रूपमा उनको चर्चा भइरहेको छ ।
उम्मेदवारी घोषणा गर्दै थपलियाले पर्यटन व्यवसायीका साझा मुद्दालाई संस्थागत रूपमा उठाउने, सदस्य व्यवसायीको हकहित संरक्षण गर्ने, ठमेललाई अझ सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउने तथा अन्तर्राष्ट्रिय स्तरको पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्ने आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताएका छन् ।
उनले व्यवसायीबीच सहकार्य र समन्वयलाई मजबुत बनाउँदै परिषद्लाई अझ प्रभावकारी संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
यसअघि सम्पन्न परिषद्को निर्वाचनमा धादिङका पर्यटन व्यवसायीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । तत्कालीन निर्वाचनमा धादिङका ध्रुव अधिकारी अध्यक्ष, सहदेव धमला उपाध्यक्ष, प्रकाश थपलिया कोषाध्यक्ष, कोपिला सिंखडा सदस्य तथा कुमार नेपाली सदस्य पदमा निर्वाचित भएका थिए ।
यसपटक पनि धादिङका पर्यटन व्यवसायीहरूको सक्रिय सहभागिताले परिषद्को निर्वाचनलाई थप चासोका साथ हेरिएको छ ।
