
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको र्यापिड एक्सन टिम ( र्याट) ले धादिङका विभिन्न सरकारी कार्यालयसँग सम्बन्धित कामकारबाहीबारे विस्तृत सूचना माग गरेको छ ।
जिल्ला संयोजक दीपक अधिकारीको हस्ताक्षरमा बुझाएको पत्रमार्फत नीलकण्ठ नगरपालिका र सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय सँग सूचना माग गरिएको हो ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार आ.व. २०७९/८० पछिका विभिन्न गतिविधि, बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनसँग सम्बन्धित विवरण उपलब्ध गराउन अनुरोध गरिएको पत्रमा उल्लेख छ ।
र्याट धादिङले कृषि अनुदान वितरण, सवारी साधन मर्मत तथा इन्धन खर्च, घरभाडा र पाहुना सत्कार खर्च, निर्माणाधीन योजना तथा DPR प्रक्रिया, ठेक्का सम्झौता र लाभग्राही विवरणलगायत विषयमा प्रमाणित सूचना माग गरेको छ।
त्यसैगरी, सम्बन्धित कार्यालयहरूबाट सञ्चालित योजना, बजेट विनियोजन र कार्यप्रगतिको यथार्थ विवरण पनि उपलब्ध गराउन आग्रह गरिएको छ ।
र्याटले अध्ययन तथा अनुगमन प्रयोजनका लागि आवश्यक भएकाले तोकिएको विवरण छिटो उपलब्ध गराउन सम्बन्धित निकायसँग अनुरोध गरेको जनाएको छ ।
र्याट धादिङले केही महिना यता सामाजिक क्षेत्रमा सहयाेग तथा अनियमिता र वेथिती विरुद्ध अभियान चलाई रहेकाे छ ।


