नीलकण्ठको कम्पोष्ट मल उत्पादन केन्द्र दुई महिनादेखि बन्द

Avatar photo
Dhadingpost
चैत्र १८, २०८२

धादिङ । नीलकण्ठ नगरपालिका–८ ज्यामिरेमा सञ्चालनमा रहेको कम्पोष्ट मल उत्पादन केन्द्र विगत दुई महिनादेखि बन्द रहेको पाइएको छ ।

नगरलाई फोहोरमुक्त बनाउने र नमुना नगरका रूपमा विकास गर्दै पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित स्थापना गरिएको उक्त केन्द्र USAID को सहयोगमा सञ्चालनमा ल्याइएको थियो । कुहिने फोहोरलाई प्रशोधन गरी कम्पोष्ट मल उत्पादन गर्ने योजना अनुसार केन्द्र सञ्चालनमा आएको हो ।

तर आवश्यक कच्चा पदार्थ अभावका कारण उत्पादन ठप्प भएको त्यहाँ कार्यरत कर्मचारीले बताएका छन् । सुरुवातअघि धादिङबेसी बजार क्षेत्रमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने र कुहिने फोहोरलाई मलमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरिएको थियो । तर व्यवहारमा उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा केन्द्रमा कच्चा पदार्थको अभाव भएको हो ।

उक्त कम्पोष्ट मल उत्पादन केन्द्रमा नगरपालिकाले एक जना कर्मचारी समेत नियुक्त गरेको छ । राम्रो सन्देशसहित सुरु गरिएको यो परियोजना अहिले बन्द अवस्थामा पुगेपछि यसको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।

यस विषयमा प्रतिक्रिया लिन प्रकाश श्रेष्ठ (वडा नं. ८ का अध्यक्ष तथा नगर प्रवक्ता) सँग सम्पर्क गर्न खोजिएको भए पनि सम्पर्क हुन सकेन ।