
धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट पात्लेस्थित खेल मैदानमा सम्पन्न ११औँ मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताको उपाधि कुपा युवा समाजले हात पारेको छ।
३२ टिमको सहभागिता रहेको प्रतियोगिताको आज सम्पन्न फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा बिहानी युवा क्लबलाई पराजित गर्दै कुपा युवा समाजले उपाधि जित्न सफल भएको हो।
उपाधिसँगै विजेता कुपा युवा समाजले नगद १ लाख ४० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको बिहानी युवा क्लबले ६५ हजार रुपैयाँ हात पारेको छ। प्रतियोगिताको सेमिफाइनल चरणमा रोकिएका दुई टिम बिदुर-१२ र जनआवाज युवा क्लवले २०–२० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताको मुख्य सहयोगीका रूपमा युकेमा बसोबास गर्दै आएका स्थानीय पूर्ण तामाङ पाख्रिनले रु. १ लाख ४० हजार आर्थिक सहयोग गरेका थिए। उनले यसअघि सम्पन्न १०औँ संस्करणमा रु. १ लाख ३१ हजार र ९औँ संस्करणमा रु. १ लाख ३० हजार सहयोग गरेका थिए।
