
धादिङ । नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमहरुमा अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत (कक्षा ६-८) तथा माध्यमिक (कक्षा ९-१०) तह स्तरीय लेखन दौड प्रतियोगिता गर्ने भएको छ ।
विद्यार्थीहरुको लेखन क्षमता, रचनात्मकता तथा समालोचनात्मक चिन्तन विकास गर्ने उद्देश्यका साथ यहि जेष्ठ २९ गते उक्त प्रतियोगिता गर्न लागिएको नगरपालिकाका शिक्षा अधिकृत प्रकाश दत्तभट्टले धादिङपोष्टलाई बताए ।
प्रतियोगितामा, “यदि म हाम्रो देशको प्रधानमन्त्री भएँ भने…” “If I were the Prime minister of our Country….” भन्ने शिर्षक दिएको छ शब्द गणना (Word number Counting), समय अवधि (Duration), विषयवस्तु (Content), लेखन शैली (Writing Style) लाई आधारमानि मुल्याङ्कन गरिने उनले बताए ।
विगत २ वर्ष अघि देखिनै हालको नीलकण्ठ बालमन्दिर माविमा लेखन दौड नेपाली भाषामा हुँदै आएको थियो । नगरपालिकाले नेपाली र अंग्रेजी दुबै भाषामा यो प्रतियोगिता आयोजना गर्न लागेको पहिलो पटक हो ।
नीलकण्ठ रीडर्स क्लबले नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीले मात्रै भाग लिन पाउने गरि माघमा गरेको लेखन दौड प्रतियोगितामा आठ जना विद्यार्थीले लगातार आठ घण्टा १ मिनेट लेखेर यस अघिको रेकर्ड ब्रेक गरेका थिए । त्यस अघि कक्षा नौमा अध्यनरत अनुस्का केसीले लगातार ६ घण्टा १ मिनेट लेखेर रेकर्ड बानाएकी थिईन् ।