
धादिङ । धादिङको खनियाबास गाउँपालिकालाई शनिबार गाउँपालिका परिषरमा भएको एक भव्य समारोहका बीच बागमती सरकार सामाजिक विकास सामाजिक विकास मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरेको छ ।
कार्यक्रममा मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले खनियाबास गाउँपालिकाको सबै गाउँ, टोल, बस्ती क्षेत्रभित्र गरिएको सर्वेक्षणमा ३२९१ घरधुरी तथा ४ बर्षदेखि १४ बर्षसम्मका विद्यालय उमेर समुहका विद्यालय बाहिर रहेका ११ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरि सकिएको र अब कोहि बालबालिकाहरु यस पालिकामा विद्यालय बाहिर नरहेकोले अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गरिएको बताएका छन् ।
मन्त्री श्रेष्ठले ०८५ बैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति विभिन्न सरकारी सेवा, सुविधा र अवसरवाट वञ्चित हुने हुँदा त्यस अघि नै नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धी मौलिक हकलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न प्रदेशका हरेक स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको हुनुपर्ने बताएका थिए ।
गाउँपालिकाले सबै वडाहरुमा अनिवार्य तथा निःशुल्क शिक्षा लागु जनाउँदै खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा गर्न प्रदेश सरकारलाई प्रस्ताव गरे अनुरुप उक्त घोषणा भएको गरिएको हो ।
तीनवटा कार्यक्रम एकसाथ भएको उक्त (Universal Goodness -5(UG-5) अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रम र खनियाबास गाउँपालिका अन्तरगत खानेपानी तथा सरसफाई आयोजना हस्तान्तरण समारोह) कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरीप्रभा खड्गी, सुष्पा भुजेल, धम्मकाया फाउन्डेसनका निर्देशक थावन थाओरो लगायतको बिशेष आतिथ्यता रहेको थियो ।