
धादिङ । खेलाडीको सपना, मिहेनत र लक्ष्य केवल व्यक्तिगत उचाइको लागि होइन, सिङ्गो पालिकाको गौरवको प्रतीक पनि हो । त्यस्तै गौरव बोकेर आयोजना हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन चाहने बेनिघाट रोराङ गाउँपालिकाका खेलाडीहरू यस वर्ष पालिकाको निर्णयका कारण वञ्चित हुनेभएका छन् ।
पालिकास्तरमा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लामा छनोट भएका खेलाडीहरूलाई पालिकाले जिल्ला प्रतियोगितामा नपठाउने निर्णय गर्नु केवल अनुचित मात्रै नभई उनीहरूको मनोबलमा गहिरो चोट पुर्याउने कार्य भएको छ । राष्ट्रपति रनिङ शिल्ड जस्तो ठुलो र अवसरदायी प्रतियोगितामा सहभागिता हुन नपाउनु कतिपय खेलाडीहरूको करियरमा अवरोध बन्नसक्छ ।
“हाम्रो पालिकाको प्रतिनिधित्व गर्दै जिल्लामा सहभागी हुने सपना बोकेका खेलाडीहरूलाई पछाडि पार्नु नैतिक रूपमा पनि अनुचित छ ।” खेलकुदबाट छात्रवृत्ति, रोजगारी र राष्ट्रिय स्तरको यात्रा तय गर्न सक्ने आधार यस्तै प्रतियोगिता हुन् । यस्तो अवसरबाट वञ्चित गरिनु खेलप्रेमी पालिका बन्ने मार्गमा बाधक बन्न सक्छ । बरु दीर्घकालीन रणनीति, योजना र व्यवस्थापन तयार पार्दै खेलकुदको पूर्वाधार सुदृढ गर्नुपर्ने बेला आएको छ ।
यदि बजेट, व्यवस्थापन वा अन्य कारणले खेलाडी सहभागी गराउन नसकिएको हो भने पनि पालिकाले यथाशीघ्र दीर्घकालीन समाधानतर्फ ध्यान दिनु आवश्यक छ । तत्कालका लागि खेलाडीहरूलाई सहभागी गराउने वातावरण सिर्जना गर्दै आगामी वर्षहरूका लागि नीति र बजेट स्पष्ट गर्नु नै उचित मार्ग हुनेछ । बेनिघाट रोराङ जस्तो सम्भावनाशील पालिकामा खेलाडीको सपना सिमित नगरौँ, बरु उनीहरूको मिहेनतलाई राष्ट्रिय पहिचानसम्म पुर्याउने बाटो खोलौँ ।
१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि ५ गते सम्म धादिङबेसीमा हुँदै छ । बेनीघाट रोराङले भाग नलिने भन्ने सुनेको छु । यो निर्णय पालिकाले गरि सकेका भए दुखद हो जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ बताउँ छन् ।
अध्यक्ष तामाङका अनुसार पालिकाले आर्थिक व्यवस्थापनका कारण खेलाडी सहभागी गराउन नसकेको हो भने पालिकाबाट छनोट भएका खेलाडीहरुको विवरण खेलकुदमा पठाए, छनोट भएका खेलाडीहरु आफ्नै खर्चमा खेल्न सक्ने छन् ।